रिलायन्स स्पिनिङको आइपीओ मूल्यभन्दा तलै घट्न थालेपछि तिल्मिलाए लगानीकर्ता
सोमबार एकाएक मूल्य घटेपछि लगानीकर्ता अन्योलमा परेका छन् । त्यसो त केही लगानीकर्ताले सस्तो मूल्यमा सेयर उठाउन रिलायन्सको माग नराखेको र घटाएर दिएमा मात्र किन्ने परिस्थिति निर्माण गरेको आरोप लगाएका छन् ।
काठमाडौं । फागुन २१ को निर्वाचनपछि पहिलो पटक खुलेको सेयर बजारमा 'तेस्रो सर्किट ब्रेक' लागेर सोमबारको कारोबार बन्द भयो । सेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६ प्रतिशत (१६२.४३ अंक) ले बढेर २८७५.४३ अंकमा उक्लियो । प्रि–ओपन सेसनबाहेक समग्रमा ३ मिनेट हाराहारी कारोबार भएको नेप्सेमा ५५ करोड ५९ लाख ६३ हजार रुपैयाँ बराबरको ११ लाख ४३ हजार ६७६ कित्ता सेयर खरिदबिक्री भयो ।
सोमबार २५२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसमा कर्पोरेट डेभलपमेन्ट बैंक, शिवश्री हाइड्रोपावर र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बजारमा २७ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । पुरा समय नै कारोबार गर्न नपाई बजार …हल्टÚ भएको नेप्सेमा सूचीकृत एउटा कम्पनीको मूल्यमा भने गिरावट आएको छ ।
समग्र बजार हरियाली हुँदा पनि रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य भने घटेको छ । जुन कम्पनीको सेयरमा प्रराम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) मै लगानीकर्ताले उच्च मूल्य तिरेका थिए । बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको रिलायन्स स्पिनिङको ९ दिनसम्म लगातार मूल्य बढेपनि सोमबार भने घट्न पुगेको छ । निर्वाचनअघिको कारोबारमा प्रतिकित्ता ६८५.५० रुपैयाँसम्म पुगेको रिलायन्स स्पिनिङको सेयर मूल्य १.४९ प्रतिशत (१०.२० रुपैयाँ) ले घटेर ६७५.३० रुपैयाँमा झरेको छ । अधिकांश कम्पनीको सेयर मूल्य बढिरहँदा रिलायन्सको मूल्य घटेका कारण महङ्गो मूल्यमा आईपीओ भरेर लगानीकर्ताहरु विलखबन्दमा परेका छन् ।
सर्वसाधारण लगानीकर्ताले प्रति कित्ता ८२०.८० रूपैयाँका दरले सेयर खरिद गरेको रिलायन्स स्पिनिङको कारोबार मूल्य तय गर्दा नेप्से विगतको आधारलाई पन्छाउँदै अंकित मूल्यमा पहिलो कारोबारको अनुमति दिएको थियो । यसअघि नेटवर्थको ३ गुणासम्मको मूल्यमा १० प्रतिशत तलमाथि हुने गरी मूल्यसीमा (प्राइस रेन्ज) तोक्ने अभ्यास रहेकोमा नेप्सेले पुरानै पद्धति अंकित मूल्यको ३ गुणासम्मको मूल्यमा १० प्रतिशत तलमाथि हुने गरी मूल्यसीमा तोकेको थियो । त्यसैआधारमा फागुन ५ गते पहिलो कारोबार दिन ३३० रूपैयाँसम्ममा कारोबार भएको थियो । तर, सोमबार भने एकाएक मूल्य घटेपछि लगानीकर्ता अन्योलमा परेका छन् । त्यसो त केही लगानीकर्ताले सस्तो मूल्यमा सेयर उठाउन रिलायन्सको माग नराखेको र घटाएर दिएमा मात्र किन्ने परिस्थिति निर्माण गरेको आरोप लगाएका छन् । रिलायन्सको सेयर योग्य संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९१२ रूपैयाँ हालेका थिए । सर्वसाधारणले हालेको मूल्यभन्दा १३५.३० रूपैया तलनै बसेर नियमित कारोबारमा आउने अवस्था बनेपछि लगानीकताहरु तिर्मिराएका हुन् ।