दोस्रो कारोबारको पहिलो मिनेटमै फेरी बजार बन्द, अब ४० मिनेटपछि खुल्ने

पहिलो हल्टपछि खुलेको बजार एक मिनटमै थप एक प्रतिशत अर्थात् समग्रमा ५ प्रतिशतले नेप्से बढेपछि दोस्रो पटक हल्ट भएको हो । अब ४० मिनेटपछि बजार खुल्ने छ । पहिलो कारोबारको पहिलो मिनेटमा १०८.६ अंक अर्थात् ४ प्रतिशतले बढेर बन्द भएको थियो ।


काठमाडौं । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३५.७२ अंकले बढेको छ । पहिलो हल्टपछि खुलेको बजार एक मिनटमै थप एक प्रतिशत अर्थात् समग्रमा ५ प्रतिशतले नेप्से बढेपछि दोस्रो पटक हल्ट भएको हो । अब ४० मिनेटपछि बजार खुल्ने छ । 

यसअघि पहिलो कारोबारको पहिलो मिनेटमा १०८.६ अंक अर्थात् ४ प्रतिशतले बढेर बन्द भएको थियो । यसअघि प्रि ओपन सेसनमा नेप्से ४४.६३ अंकले बढेको थियो । त्यसअघि चुनावको सार्वजनिक विदा अघिको ६ कारोबार दिन लगातार नेप्से बढेको थियो । ६ दिनमा ९७.९२ अङ्कले बढेर नेप्से २७१२.४९ विन्दुमा रोकिएको थियो ।

नेप्से सूचक नियमित कारोबारको पहिलो घण्टामा अर्थात् दिउँसो १२ बजेअघि ४ प्रतिशत घट्यो वा बढ्यो भने २० मिनेटका लागि कारोबार स्थगित हुन्छ । नेप्से दोस्रो घण्टा अर्थात् दिउँसो १ बजेभित्र ५ प्रतिशतले उतारचढाव भएमा दोस्रो सर्किट मानेर ४० मिनेटका लागि कारोबार स्थगित हुन्छ । त्यसपछि नेप्से सूचक ६ प्रतिशतले बढेमा वा घटेमा दिनको बाँकी सबै कारोबार ठप्प हुन्छ । कम्पनीको हकमा भने १० प्रतिशतसम्म घटबढ हुनसक्ने व्यवस्था छ । कम्पनीका हकमा १० प्रतिशत बढ्दा वा घट्दा कारोबार रोकिँदैन तर, त्यसभन्दा बढी घट्ने वा बढ्ने अवस्था सिर्जना हुँदैन ।