चुनावअघि ६ कारोबार दिन सेयर बजारमा छायो हरियाली, नेप्से एक महिनापछि २७०० विन्दूमाथि

यसअघि माघ २२ गते नेप्से सूचक २७०८.७० अंकमा थियो । त्यसपछि भने नेप्से फेरी घट्न थालेको थियो । फागुन १० गते २६१४.५५ अंकमा रोकिएको नेप्से ६ कारोबार दिनमा ९७.९२ अंकले बढेको छ । नेप्सेको कारोबार नियाल्ने हो भने पछिल्लो ६ कारोबार दिन सेयर सूचकले सकारात्मक बाटो पछ्याएको छ ।

काठमाडौं । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३८.५२ अंकले बढेर २७१२.४९ अंकमा रोकिएको छ । मंगलबारको सेयर किनबेच प्रतिनिधिसभा निर्वाचन २०८२ अघिको अन्तिम कारोबार हो । आइतबार खुलेको बजार सोमबार फागु पूर्णिमा कारण बन्द भयो । बुधबार र बिहीबार पनि सार्वजनिक विदा छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले सार्वजनिक विदाको घोषणा गरेका कारण आजको कारोबार नै चुनावअघिका अन्तिम कारोबार हो । 

नेप्सेको कारोबार नियाल्ने हो भने पछिल्लो ६ कारोबार दिन सेयर सूचकले सकारात्मक बाटो पछ्याएको छ । फागुन १० गते २६१४.५५ अंकमा रोकिएको नेप्से ६ कारोबार दिनमा ९७.९२ अंकले बढेको छ । यसअघि माघ २२ गते नेप्से सूचक २७०८.७० अंकमा थियो । त्यसपछि भने नेप्से फेरी घट्न थालेको थियो । अबको कारोबार एकै पटक फागुन २३ गते आईतबार मात्र खुल्नेछ । त्यसदिनसम्म प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मत परिणाम करिव आईसक्ने छ र यसले आगामी सरकार कुन पार्टीले बनाउँछ र को प्रधानमन्त्री बन्छ भन्ने तय गर्छ । राजनीतिक स्थिरता कायम हुने वा नहुने मोटामोटी सन्देश दिन्छ । त्यसैले आगामी दिनमा सेयर बजारले कसरी नेतृत्व गर्छ भन्न सकिन्छ । सामान्यतया हरेक आमनिर्वाचन पछि सेयर बजारले नयाँ उचाई समाएका दृष्टान्तहरु छन् । त्यसैले निर्वाचनपछि बजारले नयाँ गति समाउन सक्छ ।

तर, यसबीचमा कारोबार रकम भने निकै खुम्चिँदै गएको देखिन्छ । पछिल्लो ६ कारोबार दिनमा सबैभन्दा धेरै सेयर किनबेच पनि मंगलबार नै भएको छ । मंगलबार १ करोड ५१ लाख ८४ हजार ६०७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २३ करोड ४३ लाख ८१ हजार रुपैयाँबराबरको कारोबार भएको छ । यसअघि फागुन १० गते ६ अर्ब ६६ करोडको सेयर किनबेच भएको थियो ।

साल्पा विकास बैंकको सेयरमा आज पनि सकारात्मक सर्किटमा लागेको छ । सो बैंकको सेयर मूल्य ६४ रुपैयाँ २० पैसा बढेर ७०७ रुपैयाँ १० पैसामा बन्द भएको छ । त्यस्तै, पञ्चकन्या माइ हाइड्रोपावर र रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने मोलुङ्ग हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ । मूल्य घटेका स्टकहरूको गिरावट ३ प्रतिशतभन्दा कम देखिएको छ ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको सेयर कारोबार ३४ करोड ६५ लाख ३० हजार रुपैयाँ बराबर भयो । रिडी हाइड्रोपावरको कारोबार २७ करोड ५० लाख रुपैयाँभन्दा बढी, एसवाई प्यानल नेपालको कारोबार साढे २४ करोड रुपैयाँ नाघेको छ ।