सार्वजनिक बिदामा बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन, बैंकहरूले निकाल्नेछन् छुट्टै सूचना

सरकारले फागुन २१ गते बिहीबारका दिन प्रतिनिधिसभा निर्वाचनका लागि २० गतेदेखी २२ गतेसम्म ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । राष्ट्र बैंकले निर्वाचनका दिन र अन्य सार्वजनिक विदाका दिनमा बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन भनेको हो ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा दिइएको सार्वजनिक विदामा बैंकिङ सेवा उपलब्ध गराउन भनेको हो । आज सोमबार फागु पुर्णिमा (होली पर्व) का कारण काठमाडौं उपत्यकालगायत पहाडी जिल्ला र मंगलबार मधेश प्रदेशलगायत तराईका जिल्लाहरुमा होली पर्वका कारण सार्वजनिक विदा परेको छ । त्यसैगरि सरकारले फागुन २१ गते बिहीबारका दिन प्रतिनिधिसभा निर्वाचनका लागि २० गतेदेखी २२ गतेसम्म ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । राष्ट्र बैंक निर्वाचनका दिन र अन्य सार्वजनिक विदाका दिनमा बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन भनेको हो ।

राष्ट्र बैंकले सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरुद्वारा भुक्तानी व्यवस्था र राजस्व दाखिला गर्ने व्यवस्था समेत मिलाउन निर्देशन दिएको छ । निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाहरुद्वारा राजनीतिक दल तथा उम्मेदवारको नगद वा चेक वा अन्य विनिमय साधनहरुको दाखिला, भुक्तानीलगायतका बैंकिङ सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनिएको छ । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेद्वारहरुले बैंक खाता खोली त्यसैमार्फत कारोबार गर्न निर्देशन दिएको छ । त्यसैअनुरुप आईतबारसम्म ६५ राजनीतिक दलमध्ये ११ र ३ हजार ४०६ उम्मेद्वारमध्ये १ हजार ८६५ उम्मेद्वारले बैंक खाता खोलेका छन् ।