सार्वजनिक बिदामा पनि इन्धन आपूर्ति निरन्तर रहने : नेपाल आयल निगम
नेपाल आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै बिदा अवधिभर पेट्रोलियम पदार्थको आपूर्ति, ढुवानी तथा वितरण कार्य नियमित रूपमा सञ्चालन हुने जनाएको छ ।
काठमाडौं । सरकारले फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै फागुन २० देखि तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै इन्धन आपूर्तिमा कुनै अवरोध नआउने गरी व्यवस्था मिलाइएको छ । नेपाल आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै बिदा अवधिभर पेट्रोलियम पदार्थको आपूर्ति, ढुवानी तथा वितरण कार्य नियमित रूपमा सञ्चालन हुने जनाएको छ ।
निगमका अनुसार देशभरका डिपो, प्रदेश कार्यालय तथा बिक्री वितरण प्रणालीलाई तयारी अवस्थामा राखिएको छ । अत्यावश्यक सेवा तथा उपभोक्तालाई इन्धन अभाव नहोस् भन्ने उद्देश्यले आवश्यक कर्मचारीलाई जिम्मेवारी तोकी आलोपालो ड्युटीको व्यवस्था गरिएको छ ।
बिदा अवधिमा पनि पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी ग्यासको आपूर्ति सहज राख्न उद्योग, ढुवानी व्यवसायी र डिलरहरूसँग समन्वय गरिएको निगमले जनाएको छ । निगमले सम्भावित भीड तथा अनावश्यक सञ्चिति रोक्न उपभोक्तालाई आवश्यकता अनुसार मात्र इन्धन खरिद गर्न अनुरोध गरेकाे छ ।
निगमले बजारमा इन्धन आपूर्ति पर्याप्त रहेको स्पष्ट गर्दै कुनै किसिमको हल्ला वा भ्रममा नपर्न पनि आग्रह गरेको छ ।