अधिक तरलताको चपेटामा वित्तीय क्षेत्र, एकैपटक एक खर्बभन्दा बढी रकम खिच्दै राष्ट्र बैंक

८७ दिन अवधि, बोलकबोल प्रक्रियामार्फत ब्याजदर निर्धारण

निक्षेप संकलन प्रक्रियाअन्तर्गत न्यूनतम आवेदन रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम ५ अर्ब रुपैयाँसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । एकै दिन एक खर्ब रकम झिक्न लागेको सम्भवतः नेपालको बैंकिङ इतिहासमै पहिलो पटक हो ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक दिन एक खर्बभन्दा बढी रकम वित्तीय बजारबाट झिक्ने भएको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ खर्ब १० अर्ब रुपैयाँ खिच्न बोलकबोल आब्हान गरेकोछ । 

केन्द्रीय बैंकले ८७ दिन अवधिको अल्पकालीन उपकरणमार्फत एकै पटक ठूलो रकम बैंकिङ प्रणालीबाट झिक्न लागेको हो । एकै दिन एक खर्ब रकम झिक्न लागेको सम्भवतः नेपालको बैंकिङ इतिहासमै पहिलो पटक हो । लामो समयदेखी वित्तीय क्षेत्र अधिक तरलता (लगानी योग्य रकम) को दबाबमा छ । यसअघि पनि पटक पटक केन्द्रीय बैंकले ठूलो रकम वित्तीय प्रणालीबाट खिच्दै आएको छ ।

राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडिङ प्रणालीमार्फत आज मध्यान्ह ३ बजेसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलन प्रक्रियाअन्तर्गत न्यूनतम आवेदन रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम ५ अर्ब रुपैयाँसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । बाँकी रकम भने निःशेष भागअनुसार बाँडफाँट गरिने छ । निक्षेप संकलन कार्यक्रममा सहभागी हुन बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकबाट क, ख वा ग वर्गको इजाजतप्राप्त गरेको हुनुपर्नेछ । बोलकबोल प्रक्रियामार्फत निर्धारण हुने ब्याजदरमा निक्षेप संकलन गरिनेछ ।

राष्ट्र बैंकले संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १३ गते गर्ने जनाएको छ ।