मूल्य बढिरहँदा ७ महिनामा १२२० किलो सुन आयात, सरकारले राजस्व उठायो सवा २ अर्ब
नेपालले सबैभन्दा धेरै सुन आयात संयुक्त अरब इमिरेट्स (युएई) बाट हुने गरेको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार युएइबाट ११ लाख ५३ हजार ८० ग्राम अर्थात् २१ अर्ब २० करोड १ लाख ९९ हजार रुपैयाँको सुन आयात गरिएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा २२ अर्ब ३४ करोड १४ लाख ७८ हजार रुपैयाँ बराबरको १२ लाख २० हजार ६३२ ग्राम (१ हजार २२०.६३२ किलो) सुन आयात भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार प्रतिमहिना १७४ किलो अर्थात् प्रतिदिन ५ किलो हाराहारी सुन आयात भएको छ । सुन आयातबाट सरकारले माघसम्म २ अर्ब २३ करोड ५४ लाख २१ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।
नेपालले सबैभन्दा धेरै सुन आयात संयुक्त अरब इमिरेट्स (युएई) बाट हुने गरेको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार युएइबाट ११ लाख ५३ हजार ८० ग्राम अर्थात् २१ अर्ब २० करोड १ लाख ९९ हजार रुपैयाँको सुन आयात गरिएको छ । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिसँगै अमेरिकी डलरको भाउ बलियो हुँदाको असर नेपालको सुन बजारमा पनि परेको छ ।
विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, विभिन्न देशहरूबिचको राजनीतिक तनाव तथा आर्थिक संकटका कारण लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भएका छन्, जसले माग बढाएर मूल्य उकासेको छ।
यस्तै, प्रमुख आर्थिक शक्तिहरूले ब्याजदरमा परिवर्तन गर्दा पनि सुनको बजार प्रभावित भएको छ । ब्याजदर घट्दा बैंकमा निक्षेपभन्दा सुनमा लगानी गर्न रुचि बढ्ने भएकाले यसको मूल्य माथि जान्छ । नेपालमा विवाह सिजन र चाडपर्व नजिकिँदै गर्दा सुनको माग थप बढ्ने अपेक्षा गरिएको छ ।