रौतहटमा साम्प्रदायिक दंगाः उच्च संयमता अपनाउन केन्द्रीय सुरक्षा समितिको आग्रह
रौतहट घटनामा संलग्न रहेको आरोपमा जनमत पार्टीका जिल्ला संयोजक शेख जमशेद पक्राउ
रौतहटको घटनामा सबैलाई उच्च संयमता र सद्भाव कायम गर्न आग्रह गरिएको छ । जिल्ला सुरक्षा समितिलाई सबै निकायसँग समन्वय गरेर उचित सुरक्षा व्यवस्था कायम गर्न निर्देशन दिइएको छ ।
काठमाडौं । फागुन ७ गते रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीच भएको सामान्य भनाभन तीन दिनमै उग्र साम्प्रदायिक दंगामा परिणत भएको छ ।
तोडफोड, आगजनी र ढुंगा हानाहानका घटना बढ्दै गएपछि अन्ततः प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । सदरमुकामबाट सुरु भएको विवाद क्रमशः अन्य स्थानमा समेत फैलिएको छ । गौर नगरपालिकाका विभिन्न वडामा धार्मिक स्थल र सवारी साधन लक्षित आक्रमण भएपछि सुरक्षा अवस्था अत्यन्त संवेदनशील बनेको छ ।
सरकारले रौतहटमा भएको घटनामा सबैलाई उच्च संयमता अपनाउन आग्रह गरेको छ । रौतहटमा दुई समुदायबीच भएको विवादले उत्पन्न अवस्थाबारे छलफल गर्न शनिबार दिउँसो केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो ।
सुरक्षा निकायका चारवटै प्रमुखसहित बसेको बैठकले रौतहटमा सद्भाव कायम गर्न आग्रह गरिएको गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।
‘रौतहटको घटनामा सबैलाई उच्च संयमता र सद्भाव कायम गर्न आग्रह गरिएको छ । जिल्ला सुरक्षा समितिलाई सबै निकायसँग समन्वय गरेर उचित सुरक्षा व्यवस्था कायम गर्न निर्देशन दिइएको छ,’ बैठकको निर्णयबारे जानकारी गराउँदै उनले भने । उक्त घटनामा दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको उनले बताए । रौतहटमा अवस्था तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले शनिबार दिउँसो १ बजेबाट कर्फ्यू लगाएको छ ।