ठेकेदारलाई रुखमा बाँधेर सडक बन्दैन, ४१ वटा कानुन सुधार्नुपर्छः कांग्रेस सभापति थापा
जलविद्युत आयोजना बनाउन एउटा ऊर्जा प्रवर्द्धक २७ वटा ढोकामा जानुपर्ने बाध्यता छ
नेपालमा सस्तोमा काम गर्नेले ठेक्का पाउने होइन कि गुणस्तरीय काम गर्छु र चाँडो सक्छु भन्नेले ठेक्का पाउने कानुन नबनाउने बेलासम्म जसले सस्तोमा गर्यो भने त्यसले काम पाउने। चाहे वडामा गरोस्, चाहे नगरमा गरोस्, चाहे ठुलो बाटोमा गरोस् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले ठेकेदारलाई रुखमा बाँधेर, उल्टो झुन्डाएर समय अगावै सडक नबन्ने बताएका छन्।
सर्लाही ४ गोडैतामा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै सडक निर्माणका लागि कानुन सुधारको आवश्यकता रहेको बताए । उनले भने, ‘सडक समयमै बन्न कम्तीमा पनि ४१ वटा कानुनले अवरोध सिर्जना गर्दो रहेछ। सबैभन्दा पहिलो कुरा नेपालमा सस्तोमा काम गर्नेले ठेक्का पाउने होइन कि गुणस्तरीय काम गर्छु र चाँडो सक्छु भन्नेले ठेक्का पाउने कानुन नबनाउने बेलासम्म जसले सस्तोमा गर्यो भने त्यसले काम पाउने। चाहे वडामा गरोस्, चाहे नगरमा गरोस्, चाहे ठुलो बाटोमा गरोस् । त्यो गर्ने बेलासम्म जति चटक गर्छु भनेर आएपनि त्यो कानुन रहने बेलासम्म कसैले पनि काम समयमा सम्पन्न गराउन नसक्ने रहेछ।’
ऊर्जाको, जलविद्युत आयोजना बनाउनका लागि एउटा ऊर्जाको प्रवर्द्धकले लाइसेन्स लिएपछि २७ वटा ढोकामा जानुपर्दो बाध्यता रहेको बताए । उनले रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै भने, ‘हामी छलफलमा बहसमा सुनिरहेका छौँ म रुखमा लगेर बाँधिदिन्छु, काम गरेन भने उल्टो झुन्डाइदिन्छु भनेको सुनेका छौँ । त्यसरी सडक बन्दैन । त्यसका लागि आवश्यक कानुन सुधार आवश्यक छ।’ केही दिनअघि बालेनले रास्वपाको चुनावीसभालाई सम्बोधन गर्दै अहिले २ वर्षको सडक निर्माणको काममा २० वर्ष लागेको भन्दै आफूहरु सरकारमा ठेकेदारलाई वाँधेर, झण्ड्याएर भएपनि डेढ वर्षमै काम सम्पन्न गराई छाड्ने बताएका थिए ।