राष्ट्रिय समस्याको समाधान नगरी निर्वाचनमा जाँदा थप द्धन्द्ध निम्तिने खतरा: पूर्वराजा ज्ञानेन्द्र शाह

वर्तमान अवस्थामा अधिकार मात्रै खोज्ने तर कर्तव्य नसोच्ने दुखद् परिस्थितिमा आलोपालो भाग लगाएर खाऔं भन्ने सोचले हैन मिलेर जाऔं भन्ने सोचले मुलुकलाई नयाँ गति दिन सकिन्छ ।

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान नगरी निर्वाचनमा जाँदा थप द्धन्द्ध निम्तिने खतरा रहेको औंल्याएका छन् । 

प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छनोटका लागि आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि अहिलेको अवस्था सामान्य नभएको तर्क गर्दै पुर्वराजा शाहले विगतमा भएका विभिन्न आन्दोलन र राजनीतिक परिवर्तनले नेपाल र नेपालीलाई वास्तवमा के दियो भन्ने विषयमा पनि आत्मसमीक्ष गर्नुपर्ने बेला आएको बताए । अहिले सिंगो मुलुक अस्वाभाविक छटपटी, अन्योलको भुमरीमा फसेको र देशको अस्तित्व नै संकटमा परेको अनुभूति आम नेपालीले गरिरहेको पुर्वराजा शाहले बताए ।

७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै पुर्वराज शाहले भने, ‘प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छान्नु स्वभाविक प्रक्रिया भए पनि अहिलेको आम जनभावना राष्ट्रिय समस्या समाधान गरेरमात्रै निर्वाचनमा जानु उचित हुने रहेको छ ।’ मुलुकमा निर्वाचनपछि कुनै खिचातानी नहोस् भन्न पनि समझदारी बनाएर जानु नै उत्तम विकल्प भएको पुर्वराजा शाहको कथन छ । मुलुकमा अधिकार खोज्ने तर कर्तव्य नसोच्चे अवस्था आउनु दुखद् परिस्थिति बनिरहेको भन्दै पुर्वराजा शाहले भनेका छन्, ‘वर्तमान अवस्थामा अधिकार मात्रै खोज्ने तर कर्तव्य नसोच्ने दुखद् परिस्थितिमा आलोपालो भाग लगाएर खाऔं भन्ने सोचले हैन मिलेर जाऔं भन्ने सोचले मुलुकलाई नयाँ गति दिन सकिन्छ ।’ 

पहिला मुलुकका गम्भीर राष्ट्रिय समस्याको समाधान गरि निर्वाचन प्रक्रियामा अघि बढ्नु नै अहिलेको मुल समस्या समाधानको बाटो रहेको भन्दै पुर्वराजा शाहले भने, ‘हाल देश कसैलाई खुसी पार्न वा कसैबाट निर्देशित हुन बाध्य हुने अवस्थाको जञ्जिरमा बाँधिएको छ । जनता आफैँ सचेत र जागरुक नहुँदासम्म प्रजातन्त्र बलियो हुँदैन ।’