भारतले पशुपतिनाथदेखि वैद्यनाथधामसम्म हाई-स्पिड करिडोर बनाउने
भारत–नेपाल सीमा सडक परियोजनाअन्तर्गत बिहारमा ५५४.०८ किलोमिटर सडक निर्माण भइरहेको छ। यो सडक पश्चिमी चम्पारण, पूर्वी चम्पारण, सीतामढी, मधुबनी, सुपौल, अररिया र किशनगञ्ज गरी सात सीमावर्ती जिल्ला हुँदै जानेछ ।
काठमाडौं । भारतले नेपालको पशुपतिनाथ मन्दिरदेखि विहार हुँदै झारखण्डको वैद्यनाथधामसम्म ‘पशुपतिनाथ–वैद्यनाथधाम हाई–स्पिड करिडोर’ बनाउने भएको छ ।
करिब २५० किलोमिटर लामो एक्सप्रेसवेको यो करिडोर नेपालको काठमाडौंबाट शुरू भई भीमनगर र वीरपुर हुँदै बिहारको सुपौल जिल्लाबाट भारत प्रवेश गर्नेछ । त्यसपछि मधेपुरा, सहरसा, खगडिया, मुंगेर र बाँका जिल्ला हुँदै झारखण्डको देवघर जिल्लास्थित वैद्यनाथधामसम्म पुग्नेछ ।
बिहारका सडक मन्त्री डा. दिलीप जयसवालले गत मंगलबार विधानसभामा आर्थिक वर्ष सन् २०२६/२७ का लागि ८२ अर्ब ६० करोड भारतीय रूपैयाँ (भारु) भन्दा बढीको बजेट प्रस्तुत गर्दै पशुपतिनाथ-वैद्यनाथधाम हाई-स्पिड करिडोर एक्सप्रेसवेका बारेमा जानकारी दिए । मन्त्री जयसवालका अनुसार यस परियोजनाको मुख्य उद्देश्य नेपालको प्रसिद्ध पशुपतिनाथ मन्दिरलाई झारखण्डको वैद्यनाथधाम मन्दिरसँग प्रत्यक्ष रूपमा जोड्नु हो ।
धार्मिक पर्यटकलाई लक्षित गर्दै निर्माण गर्न लागिएको यस करिडोरले नेपाल, बिहार र झारखण्डबीच धार्मिक तथा आर्थिक सम्बन्ध थप प्रगाढ बन्ने विश्वास छ । यसबाट धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै सांस्कृतिक आदान–प्रदानलाई पनि गति मिल्ने मन्त्री जयसवालले बताए । प्रस्तावित एक्सप्रेसवेलाई रक्सौल–हल्दिया तथा दरभंगा–आमस एक्सप्रेसवेजस्ता अन्य प्रमुख सडक मार्गसँग पनि जोडिने छ भने त्यसबाट पूर्वी भारतमा सडक सम्पर्कको सशक्त सञ्जाल विकास गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
यसअघि नेपालको काठमाडौंमा रहेको पशुपतिनाथ र भारतको झारखण्डको देवघरस्थित बैजनाथधामसँग जोड्न भारत सरकारले नयाँ करिडोर निर्माणको प्रस्ताव स्वीकृत गर्दै भागलपुर हुँदै जाने यो नयाँ करिडोर निर्माणका लागि प्रशासनलाई आवश्यक तयारी सुरु गर्न निर्देशन दिएको थियो । त्यसअन्तर्गत भारत–नेपाल सीमा सडक परियोजनाअन्तर्गत बिहारमा कूल ५५४.०८ किलोमिटर सडक निर्माणको समेत अघि बढिरहेको छ । यो सडक पश्चिमी चम्पारण, पूर्वी चम्पारण, सीतामढी, मधुबनी, सुपौल, अररिया र किशनगञ्ज गरी सात सीमावर्ती जिल्लाबाट हुँदै जानेछ । यो मार्ग पश्चिमी चम्पारणको मदनपुरबाट शुरू भई किशनगञ्ज जिल्लाको गलगलियामा सकिने छ ।
मन्त्री जयसवालले पशुपतिनाथ–वैद्यनाथधाम हाई–स्पिड करिडोर परियोजना सम्पन्न भएपछि सीमावर्ती क्षेत्रमा आवागमन सहज हुनुका साथै व्यापार, पर्यटन र सुरक्षका दृष्टिले समेत राज्यलाई ठूलो लाभ पुग्ने बताए । गंगा नदीको दक्षिणी किनारमा आरादेखि भागलपुरसम्म जेपी गंगा पथ विस्तार गर्ने योजना रहेको बताउँदै मन्त्री जयसवालले राज्यको अत्यन्त महत्त्वाकांक्षी परियोजना जेपी गंगा पथको काम सम्पन्न भएर आवागमनसमेत सहज भइसकेको दावी गरेका थिए । नेपालमा हरेक वर्ष लाखौं भारतीय पशुपतिनाथ मन्दिरको दर्शन गर्न आइपुग्छन् । त्यसमा विहारको संख्या उल्लेख्य छ ।