राष्ट्र बैंकको कारबाहीमा तीन वाणिज्य बैंक , कुनले के गरे बदमासी ?

नेपाल राष्ट्र बैंकले नियामकीय प्रावधान उल्लंघन गरेको भन्दै तीन वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । बैंकले एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई कारबाही गरेको हो ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय प्रावधान उल्लंघन गरेको भन्दै तीन वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । बैंकले एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई कारबाही गरेको हो । 

एनआइसीले राष्ट्र बैंकबाट जारी निर्देशन बारम्बार उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गरेको तथा लिखित आदेश पालन नगरेको पाइएपछि तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दफा १००(२)(ग)) अनुसार जनही दुई लाख रुपैयाँ नगद जरिवाना गरेको छ ।

मेगा बैंकले कर्जासम्बन्धी कागजातमा ग्राहकको सहीछाप नलिएको, सुरक्षणभन्दा बढी कर्जा प्रवाह गरेको, एउटै प्रकारका कर्जामा दुई प्रतिशत भन्दा बढी ब्याजदर फरक कायम गरेको र त्रैमासको अन्त्यमा नयाँ अल्पकालीन कर्जा प्रवाह गरी असुलीमा प्रयोग गरेको पाइएपछि सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई ऐनको दफा १००(२)(क) अनुसार सचेत गराइएको छ ।

ग्लोबलमा स्थलगत निरीक्षण प्रतिवेदन २०८२ अनुसार बैंकले कर्जा नोक्सानी व्यवस्था, कर्जा पुनरतालिकीकरण र पुनरसंरचना सम्बन्धी प्रावधान पूरा नगरेको पाइएको साथै कोर बैंकिङ सफ्टवेयरमा चुक्ता भइसकेको कर्जा पुरानै भ्यालु डेट राखेर सिर्जना गर्न सकिने अवस्था रहेको देखिएपछि बैंकका प्रमुख कार्यकारी अधिकृतलाई ऐनको दफा १००(२)(क) अनुसार सचेत गराइएको छ ।