७ महिनामा सवा ४० अर्बको एफडीआई प्रतिबद्धता, सबैभन्दा धेरै कृषि क्षेत्रमा करीव २२ अर्ब

माघसम्मको अवधिमा अटोमेटिक रुटबाट तीन अर्ब २५ करोड रुपैयाँ र अप्रुभल रुटमार्फत ३७ अर्ब तीन करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । गत आर्थिक वर्षको माघसम्म २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको थियो ।

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को सात महिना (साउनदेखि माघसम्मको अवधि) मा ५ सय २४ परियोजनामार्फत ४० अर्ब २८ करोड ३३ लाख रुपैयाँ बराबरको नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिबद्धता आएको छ ।

माघसम्मको अवधिमा अटोमेटिक रुटबाट तीन अर्ब २५ करोड रुपैयाँ र अप्रुभल रुटमार्फत ३७ अर्ब तीन करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे १३ अर्ब रुपैयाँले बढी हो । गत आर्थिक वर्षको माघसम्म २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको थियो ।

उद्योग विभागका अनुसार चालू आवको सात महिनामा सबैभन्दा बढी लगानी साना उद्योगतर्फ आकर्षित भएको छ । परियोजनाको संख्याका आधारमा सूचना प्रविधि र पर्यटन क्षेत्र अगाडि देखिएको छ भने लगानी रकमका आधारमा कृषि क्षेत्र शीर्ष स्थानमा छ ।

सात महिनामा कृषि क्षेत्रका १४ परियोजनामार्फत २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । त्यस्तै, पर्यटन क्षेत्रका १ सय ५० परियोजनामा १० अर्ब ८६ करोड २० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । उत्पादनमूलक ३५ परियोजनामा दुई अर्ब ४० करोड ६६ लाख ४४ हजार रुपैयाँ र सेवामूलक ३४ परियोजनामा तीन अर्ब ५४ करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

सूचना प्रविधि क्षेत्र परियोजनाको संख्यामा सबैभन्दा अगाडि देखिएको छ । यस क्षेत्रमा २ सय ८८ परियोजनामार्फत एक अर्ब २५ करोड ९४ लाख ३६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

खनिजजन्य दुई परियोजनामा ११ करोड ५० लाख रुपैयाँ र ऊर्जामूलक एक परियोजनामा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।