जनवरीमा ईभी बिक्री ३% ले घट्यो, हाइब्रिडको माग भने बढ्दो
जनवरीमा विश्व बजारमा विद्युतीय सवारी (ईभी) बिक्रीमा ३ प्रतिशतको गिरावट आएको छ । यो संख्या ब्याट्री(इलेक्ट्रीक र प्लग इन हाइब्रिड दुवै कारको हो । विश्वभर नीतिगत परिवर्तन र अनुदानमा गरिएको कटौतीले गर्दा ईभी दर्तामा गिरावट आएको हो ।
काठमाडौं । जनवरीमा विश्व बजारमा विद्युतीय सवारी (ईभी) बिक्रीमा ३ प्रतिशतको गिरावट आएको छ । परामर्शदाता संस्था ‘बेन्चमार्क मिनरल इन्टेलिजेन्स’को तथ्यांक अनुसार जनवरीमा विश्वव्यापी रुपमा ईभी दर्ता गत वर्षको तुलनामा ३ प्रतिशतले घटेर करिब १२ लाख युनिटमा सीमित भएको हो । यो संख्या ब्याट्री(इलेक्ट्रीक र प्लग इन हाइब्रिड दुवै कारको हो । विश्वभर नीतिगत परिवर्तन र अनुदानमा गरिएको कटौतीले गर्दा ईभी दर्तामा गिरावट आएको हो । मुख्य गरी चीनले गरेको कर परिवर्तन र अमेरिकाको न्यून अनुदानले ईभीको मागलाई सुस्त बनाएको हो ।
विश्वको सबैभन्दा ठूलो ईभी बजार चीनमा जनवरीमा दर्ता २० प्रतिशतले घटेर ६ लाख युनिट भन्दा तल पुगेको छ । जुन विगत दुई वर्ष यताकै कम हो । सरकारी अनुदानमा कटौती र नयाँ खरिद कर लागू भएपछि ग्राहकको रुचि घटेको देखिन्छ ।
उत्तर अमेरिकामा ईभी बिक्रीमा अझ तीव्र गिरावट आएको छ । सन् २०२५ जनवरीको तुलनामा ईभी दर्ता ३३ प्रतिशतले घटेको छ। अमेरिकामा यो सन् २०२२ यताकै सबैभन्दा कमजोर बिक्री हो ।
अन्य क्षेत्रमा ईभी बिक्रीमा घट्दा पनि युरोपियन बजारमा भने सुधार देखिएको छ । जनवरीमा युरोपमा ईभी दर्ता २४ प्रतिशतले वृद्धि भई ३ लाख २० हजार युनिट पुगेको छ । यद्यपि, यो वृद्धिदर १ वर्ष यताकै सबैभन्दा कम हो ।
चीन, युरोप, अमेरिका बाहेक बाँकी विश्वमा ईभी दर्ता करिब ९२ प्रतिशतले बढेर झण्डै १ लाख ९० हजार युनिट पुगेको छ, । हुन हालसम्मकै उच्च हो । थाइल्याण्ड जस्ता देशहरूको प्रोत्साहन नीति र दक्षिण कोरिया, ब्राजिल जस्ता देशमा बढ्दो मागले ईभी बजारमा उल्लेख्य सुधार देखिएको हो ।
विश्वका अधिकांश क्षेत्रमा प्योर ईभीको माग सुस्त रहँदा हाइब्रिड सवारी साधनमा आकर्षण बढ्दो क्रममा रहेको छ । क्रेताहरूले परम्परागत इन्जिन र प्योर ईभीको बीचको बाटो रोजिरहेका छन् । कम लागत र चार्जिङको झन्झट नहुने भएकाले पूर्ण ईभीको गति सुस्त हुँदा हाइब्रिडहरू बढी आकर्षक देखिएका हुन् ।