चुनाव सर्ने हल्लाले लगानीकर्ता 'पर्ख र हेर'को रणनीतिमा, साताभर नेप्से ३७.६३ अंकले घट्दा ५०.८४ अर्ब कारोबार

विभिन्न समूह र राजनीतिक दलहरुको हवाला दिएर पछिल्लो समय सामाजिक सञ्जालमार्फत फागुन २१ गते तोकिएको निर्वाचन सर्ने हल्ला चलाई राखिएको छ । जसको असर सेयर बजारमा परेको देखिन्छ ।

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन हुने दिन नजिकिदै जादा सेयर बजारमा लगानीकर्ताहरु भने 'पर्ख र हेर' को रणनितिमा छन् । एकातर्फ निर्वाचन भाडियो भने बजार घट्छ भन्ने डर र अर्कोतर्फ निर्वाचन भयो भने बजार बढ्छ भन्ने आशंका बिचमा लगानीकर्ताहरु छन् ।

विभिन्न समूह र राजनीतिक दलहरुको हवाला दिएर पछिल्लो समय सामाजिक सञ्जालमार्फत फागुन २१ गते तोकिएको निर्वाचन सर्ने हल्ला चलाई राखिएको छ । जसको असर सेयर बजारमा परेको देखिन्छ ।

साताको (माघ २५-२९ गते) पाँचैदिन भएको कारोबारमा सेयर बजार उच्च अंकले घटेको छ । यो साता १ दिन सेयर बजार बढ्दा ४ दिन भने घटेको छ, जसले गर्दा सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३७.६३ अंकले घटेको छ । साताभर कुल १२ करोड ४७ लाख ८१ हजार ५३ कित्ता सेयर किनबेच हुदाँ ५० अर्ब ८४ करोड ४८ लाख ७९ हजार ३ सय ८७.२३ रुपैयाँको कारोबार भएको छ । जुन अघिल्लो साताको तुलनामा १२.८६ प्रतिशतले वृद्धि हो । अघिल्लो साता ४५ अर्ब ४ करोड ७५ लाख ७१ हजार ३ सय ८९.८५ रुपैयाँको कारोबार भएको थियो । सेयर बजारमा फागुन २१ गते हुने निर्वाचनले ठूलो प्रभाव पारिरहेको छ । चुनाव हुने दिन नजिकिदै जादा कुनै घटना घट्ने हो की भन्ने त्रास लगानीकर्ताहरुमा देखिइरहेको छ ।


यस्ता छन् साताभरको कारोबार

साताको पहिलो कारोबार दिन माघ २५ गते आईतबार नेप्से १०.२४ अंकले घटेर २६९८.४५ मा बन्द भएको थियो ।

आईतबार विभिन्न ३ सय ३० कम्पनीहरुको २ करोड ६२ लाख ३६ हजार २ सय ४ कित्ता सेयर किनबेच गर्दा ११ अर्ब ६५ करोड ९७ लाखको कारोबार गरेको थियो । सो दिन ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको सेयर मूल्य घटेको थियो भने ७ कम्पनीको मूल्य स्थिर रहेको थियो ।

साताको दोस्रो कारोबार दिन माघ २६ गते सोमबार २६.०५ अंकले घटेर नेप्से २६७२.३९ अंकमा रोकियो । सोमबार ३ सय २४ कम्पनीहरुको २ करोड ६७ लाख ६६ हजार ३ सय ४७ कित्ता सेयर किनबेच गर्दा १० अर्ब ७७ करोड ३९ लाखको कारोबार गरेको थियो । सो दिन ४२ कम्पनीको सेयर मूल्य बढ्दा २१२ कम्पनीको सेयर मूल्य घटेको थियो भने ६ कम्पनीको मूल्य स्थिर रहेको थियो ।

साताको तेस्रो कारोबार दिन माघ २७ गते मंगलबार नेप्से १०.२५ अंकले घटेर २६६२.१४ मा रोकियो । मंगलबार दिनभरीमा ३२४ कम्पनीको २ करोड १७ लाख १५ हजार ८ सय ६८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड ६४ लाख १० हजार रुपैयाँको कारोबार भएको थियो । सो दिन ७४ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको सेयर मूल्य घटेको थियो भने ७ कम्पनीको सेयर स्थिर रहेको थियो ।

साताको चौथो कारोबार दिन माघ २८ गते बुधबार नेप्से ०.०४ अंकले घटेर २६६२.०९ को विन्दुमा रोकियो । सो दिन ३२९ कम्पनीको २ करोड २२ लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६९ करोडको सेयर कारोबार भएको थियो । ११३ कम्पनीको शेयर मूल्य बढ्दा १३३ कम्पनीको शेयर मूल्य घटेको थियो ।

साताको अन्तिम कारोबार दिन माघ २९ गते बिहिबार बजाार चार दिनका लगातार गिरावटपछि ८.९७ अंकले बढेर २६७१.०७ मा पुगेको थियो । बिहिबार ३ सय ३७ कम्पनीहरुको २ करोड ७७ लाख ८० हजार ५ सय ८४ कित्ता सेयर किनबेच गर्दा ११ अर्ब १० करोड २५ लाख ५० हजार ९ सय ६६.५६ रुपैयाँको कारोबार गरेको थियो । सो दिन १३९ कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको सेयर मूल्य घटेको थियो भने ६ कम्पनीको मूल्य स्थिर रहेको थियो ।