५ देशका केन्द्रीय बैंकका अधिकारी सामु गभर्नर पौडेलले भने, ‘नेपाल ग्रे लिष्टमा पर्नु चुनौतीसँगै अवसर पनि हो’
कानुनी छिद्र प्रयोग गरी वित्तीय अपचलन र अपराध गर्ने चलन बढेकाले सबै यसप्रति सचेत हुनुपर्छ । मुलुकलाई स्वास्थ्य र शिक्षामा खर्च गर्नुपर्ने रकम वित्तीय अपराधको रोकथाममा लगाउन बाध्य हुँदा सामाजिक र वर्गीय विभेद बढाइरहेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले नेपाल अन्तर्राष्ट्रिय वित्तीय निकाय फाइनान्सियल एक्सन टाक्सफोर्सको ‘ग्रे लिष्ट’ पर्नु चुनौती पूर्ण भए पनि मुलुकको सम्पत्ति शुद्धीकरण संयन्त्र सुधार्नको ठूलो अवसर भएको बताएका छन् ।
राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण रोकथाम तथा सुपरिवेक्षण विभागद्वारा आयोजित ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवाद’ विषयक वित्तीय सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले भने, ‘यो हाम्रा लागि अवसरका रूपमा आएको छ । यसले हामीलाई आन्तरिक संयन्त्र सुदृढ, पारदर्शी र विश्वव्यापी मापदण्डअनुसार बनाउनुपर्ने पाठ सिकाएको छ ।’ बिहीबारसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश र मङ्गोलियाका केन्द्रीय बैंकका अधिकारीहरू सहभागी छन् ।
अत्याधुनिक प्रविधि प्रयोग गरी वित्तीय अपराध गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै पौडेलले वित्तीय अपराधलाई नियन्त्रण गर्न सुपरिवेक्षण संयन्त्रलाई थप स्रोतसाधन सम्पन्न बनाउनुपर्ने बताए । ‘त्यसका लागि भोली समस्या परेपछि गरौँला भनेर वा घटनापछि प्रतिक्रियात्मक भएर हुँदैन, पूर्वतयारी गर्नुपर्छ’, उनले भने, ‘कानुनी छिद्र प्रयोग गरी वित्तीय अपचलन र अपराध गर्ने चलन बढेकाले सबै यसप्रति सचेत हुनुपर्छ ।’ मुलुकलाई स्वास्थ्य र शिक्षामा खर्च गर्नुपर्ने रकम वित्तीय अपराधको रोकथाममा लगाउन बाध्य हुँदा सामाजिक र वर्गीय विभेदलाई गहिराउने पौडेको कथन छ ।