राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा सवा ३ अर्ब बढी, २८ प्रतिशतको बृद्धि

विज्ञापन
ncell

संचालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले पुससम्म ३ अर्ब ३१ करोड ११ लाख रुपैयाँ नाफा कमाएका छन् । जुन नाफा गत वर्षको २ अर्ब ५८ करोड ७५ लाखको तुलनामा २७.९७ प्रतिशत बढी हो ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म विकास बैंकहरुले करिब साढे ३ अर्ब नाफा आर्जन गरेका छन् । हाल देशमा संचालनमा रहेका ८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरुले पुष मसान्तसम्म कुल ३ अर्ब ३१ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छन् । 

यो रकम गत आवको तुलनामा २७.९७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरुले २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । 

समिक्षा अवधिमा सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले पुष मसान्तसम्म ६७ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको तुलनामा ३३.५७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले ५० करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

दोस्रोमा गरिमा विकास बैंक रहेको छ । बैंकको नाफा १५.६३ प्रतिशतले बढेर ६३ करोड ५१ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ५४ करोड ९२ लाख नाफा आर्जन गरेको थियो । 

तेस्रोमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक रहेको छ । बैंकको नाफा २२.१९ प्रतिशतले बढेर ४० करोड ४२ लाख रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ३३ करोड ८ लाख रूपैयाँ नाफा गरेको थियो । 

त्यस्तै, कामना सेवा विकास बैंकको नाफा २२.३४ प्रतिशतले बढेर ३९ करोड ४५ लाख, ज्योति विकास बैंकको २४.४४ प्रतिशतले बढेर ३१ करोड १२ लाख रूपैयाँ पुगेको छ । 

त्यसैगरि, महालक्ष्मी विकास बैंकको नाफा ६.४१ प्रतिशतले बढेर ३० करोड ५९ लाख, सांग्रिला डेभलपमेन्ट बैंकको ५३.९५ प्रतिशतले बढेर ३० करोड २५ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकको ९३ प्रतिशतले बढेर २८ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।