कर्जा असुलीमा सुधार हुँदा बैंकहरुको नाफा साढे ३० अर्ब बढी, नबिल एक्लैको १५ प्रतिशत बढी हिस्सा

विज्ञापन
ncell

पुससम्ममा ११ वटा बैंकको नाफा बढ्दा ९ वटाको भने घटेको छ । बैंकहरुको कुल नाफामा नबिल बैंक एक्लैको हिस्सा १५ प्रतिशतभन्दा बढी छ । यसअवधिमा नबिलले ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको छ ।

काठमाडौंं । पछिल्लो ६ महिनामा वाणिज्य बैंकहरुको नाफामा केही सुधार देखिएको छ । चालु आर्थिक वर्षको पुससम्म सञ्चालनमा रहेका २० बैंकले ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार रुपैयाँ नाफा कमाएका छन् । जुन गत वर्ष पुसको २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँको तुलनामा ११.५१ प्रतिशतले बढी हो । चालू वर्ष लागेसँगै ऋण लगानी ठप्प भएको र बैंकहरु ऋण असुलिमा केन्द्रित हुँदा त्यसको असर नाफामा परेको हो । यद्यपी कतिपय बैंकहरुको नाफामा भने अझ गिरावट देखिएको छ ।

पुससम्ममा ११ वटा बैंकको नाफा बढ्दा ९ वटाको भने घटेको छ । बैंकहरुले प्रकाशित गरेको चालू आर्थिक वर्षको ६ महिनाको अपरिस्कृत वित्तीय विवरणअनुसार सबैभन्दा धेरै नाफा कमाउने अग्रस्थानमा नबिल बैंक छ । बैंकहरुको कुल नाफामा नबिल बैंक एक्लैको हिस्सा १५ प्रतिशतभन्दा बढी छ । यसअवधिमा नबिलले ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको छ ।

नबिललाई पछ्याएको ग्लोबल आइएमई बैंकको कुल नाफा ३ अर्ब २५ करोड २१ लाख २७ हजार रुपैयाँ छ । यसअवधिमा कुमारी बैंकको नाफामा चामत्कारिक सुधार देएिको छ । कुमारीको नाफा ८८६.५० प्रतिशतले बढेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

यस्तै एभरेष्ट बैेंकको नाफा २.०४ प्रतिशतले बढेर २ अर्ब ११ करोड, प्राइम बैंकको ९.२७ प्रतिशतले बढेर २ अर्ब ४ करोड, राष्ट्रिय वाणिज्य बैंकको १३२ प्रतिशतले बढेर १ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सानिमा बैंकको नाफा १६.६७ प्रतिशतले बढेर १ अर्ब ३९ करोड, स्टायान्डर्ड चार्टर्ड बैंकको १५० प्रतिशतले बढेर १ अर्ब ३२ करोड, नेपाल एसबिआई बैंकको १४.५६ प्रतिशतले बढेर १ अर्ब ३ करोड, माछापुच्छ्रे बैंकको २५ प्रतिशतले बढेर १ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।

उता, एनएमबि बैंकको १७ प्रतिशतले घटेर १ अर्ब ६४ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४३ प्रतिशतले घटेर १ अर्ब ६१ करोड, हिमालयन बैंकको १५ प्रतिशतले घटेर १ अर्ब २९ करोड, प्रभु बैंकको २४ प्रतिशतले घटेर १ अर्ब १ करोडमा सीमित भएको छ । कृषि विकास बैंकको नाफा २६ प्रतिशतले घटेर ७० करोड ७४ लाख, सिटिजन बैंकको ४५ प्रतिशतले घटेर ३५ करोड ८८ लाख र एनआईसी एशिया बैंकको १३.५४ प्रतिशतले घटेर १३ करोड ११ लाख रुपैयाँमा खुम्चिएको छ ।

लक्ष्मी सनराइज बैंकको नाफा भने २७ करोड ३६ लाख १५ हजार ऋणात्मक छ ।