राष्ट्रिय वाणिज्य बैंकको ६१औं वार्षिकोत्सव सम्पन्न, अर्थतन्त्र सुधारका लागि अर्थमन्त्रीको जोड
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ६१औं वार्षिकोत्सव सम्पन्न भएको छ। कार्यक्रममा बैंकको समग्र वित्तीय अवस्था, भावी रणनीति तथा बैंकिङ क्षेत्र सुधारका विविध विषयमा गहन छलफल गरिएको थियो। कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो सञ्चालनमा गहन अध्ययन अनुसन्धानको आवश्यकता औंल्याए।
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ६१औं वार्षिकोत्सव सम्पन्न भएको छ। शनिबार बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बैंकको समग्र वित्तीय अवस्था, भावी रणनीति तथा बैंकिङ क्षेत्र सुधारका विविध विषयमा गहन छलफल गरिएको थियो।
कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो सञ्चालनमा गहन अध्ययन अनुसन्धानको आवश्यकता औंल्याए। संस्थाहरूमा यस्तो संस्कृति नभएकाले लगानीका सम्भावित क्षेत्र पहिचानमा चुनौती उत्पन्न भएको उनले टिप्पणी गरे। साथै विदेशिक रोजगारीबाट आएको रकम उत्पादनशील क्षेत्रमा लगानी गर्न नसकिँदा समग्र अर्थतन्त्रमा असन्तुलन देखिएको उल्लेख गरे।
भविष्यको बैंकिङ प्रणाली परम्परागत धितोमा आधारित कर्जाबाट बाहिर निस्कनुपर्नेमा उनले जोड दिएका थिए। अर्थमन्त्री खनालले नेपाल हाल अन्तर्राष्ट्रिय ग्रे लिस्टमा परेको सन्दर्भ उठाउँदै यसबाट छिटो बाहिर निस्कनुपर्ने आवश्यकता औंल्याए। समयमै आवश्यक सुधार र मापदण्ड पूरा गर्न नसके नेपाल ब्ल्याक लिस्टमा पर्न सक्ने जोखिमसमेत रहेको उनले चेतावनी दिए। बैंक तथा वित्तीय संस्थाहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पारदर्शिता, जोखिम व्यवस्थापन र नियमन पालना गर्न अझ जिम्मेवार भूमिका खेल्नुपर्नेमा उनको जोड छ।
राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको छ। यो अवधिमा बैंकले एक अर्ब ७५ करोड नाफा कमाएको जनाएको छ । यो अपरिस्कृत विवरण हो । उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गरिरहेको बैंकले दाबी गरेको छ ।
वार्षिकोत्सवकै अवसरमा बैंकले प्रकाशन गरेको विशेषाङ्क ‘स्मारिका २०८२’ को विमोचन गरिएको थियो। साथै यस वर्ष सञ्चालनमा ल्याइएका १२ वटा शाखा कार्यालयको डिजिटल माध्यमबाट औपचारिक उद्घाटन गर्नुका साथै बैंकको नयाँ उत्पादन ‘आरबिबी फोन लोन’ को पनि शुभारम्भ गरिएको छ। कार्यक्रममा बैंकमा २० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घसेवा पदक प्रदान गरी सम्मान गरिएको थियो।