एसबीआई बैंकको हायुटार शाखाबाट ३ करोड बढी लुटपाटमा संलग्न ज्ञानबहादुर भ्लोन पक्राउ
बैंक रहेका घरका धनी र उनका जेठानसमेत घट्नामा संलग्नको संख्या ८ पुग्यो
प्रहरीले बैंक लुटपाटका मुख्य योजनाकार रहेका बैंक रहेको घरका धनी छविलाल स्याङ्ताङ र उनका जेठान चतुरमान बैज्युसमेत ७ जनालाई पक्राउ गरि यसअघि नै सार्वजनिक गरेको छ ।
काठमाडौं । पुस २९ गते सिन्धुली जिल्ला ध्याङलेख गाँउपालिका–२ मा रहेको एसबिआई बैंकको शाखामा रहेको ३ करोड ७ लाख लुटेर फरार रहेका थप एक जनालाई प्रहरीले लप्सीबोट पक्राउ गरेको छ ।
बैंकको उक्त शाखा लुटपाट गरी फरार रहेका सिन्धुली जिल्ला घ्याङलेख गाउँपालिका–२ का ५३ वर्षीय ज्ञान बहादुर भ्लोन तामाङलाई माघ ६ गते किर्तिपुर नगरपालिका- ७ लप्सीबोट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका तामाङलाई अन्य प्रतिवादीहरुकै नाममा म्यादमा मिलान म्याद गरी थप अनुसन्धान भईरहेको छ ।
प्रहरीले बैंक लुटपाटका मुख्य योजनाकार रहेका बैंक रहेको घरका धनी छविलाल स्याङ्ताङ र उनका जेठान चतुरमान बैज्युसमेत ७ जनालाई पक्राउ गरि यसअघि नै सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रे बनेपाका भागवत सिंह थापा, सिन्धुली घ्याङलेखका–२ का ४७ वर्षीय बैज्यु, ४४ वर्षीय स्याङ्ताङ, चितवन भरतपुर–२ का २४ वर्षिय शशंका श्रेष्ठ, नुवाकोटका २३ वर्षीय मिलन गिरी, सोहीका विवेक मगर पक्राउ परेका हुन् । एक जना भने नाबालक छन् । पक्राउ परेकाहरुबाट नक्कली पेस्तोल, लुटपाट गर्न प्रयोग गरिएको लुगाकपडा तथा दुई थान खुकुरी समेत बरामत भएको थियो ।