साइबर ठगी रोकथाम र डिजिटल वित्तीय सुरक्षाका लागि राष्ट्रिय सम्मेलन

सम्मेलनमा विश्वका अग्रणी कार्ड नेटवर्क सञ्चालक भिसाका विज्ञहरूको प्रस्तुति रहनेछ भने नेपाली बैंकिङ क्षेत्रका वरिष्ठ बैंकर, साइबर सुरक्षा विज्ञ तथा विशेषज्ञहरूको सक्रिय सहभागिता रहनेछ ।

काठमाडौं । फिन्टेक र पीसीआई एसएससीको संयुक्त आयोजनामा माघ १४ गते राजधानी काठमाडौंमा साइबर सुरक्षा तथा साइबर ठगी रोकथाम सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।

बैंक, वित्तीय संस्था तथा फिन्टेक क्षेत्रमा तीव्र रूपमा बढ्दै गएको साइबर जोखिम र ठगीका घटनालाई मध्यनजर गर्दै आयोजना गरिएको यस सम्मेलनमा स्वदेशी तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विज्ञहरूले साइबर सुरक्षा, ठगी नियन्त्रण तथा जोखिम व्यवस्थापनका विषयमा आफ्ना अनुभव र सुझावहरू प्रस्तुत गर्नेछन् ।

सम्मेलनका मुख्य वक्ता भारतको केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया-आरबीआई) को नेतृत्वमा स्थापना गरिएको बैंकिङ प्रविधि, साइबर सुरक्षा तथा अनुसन्धान तालिम केन्द्र (आईडीआरबीटी) का प्रमुख तथा पूर्व केन्द्रीय बैंकर दीपक कुमार हुनेछन् । उनले बैंकिङ क्षेत्रमा साइबर सुरक्षा, केवाईसी प्रणाली तथा डिजिटल जोखिम व्यवस्थापनका विषयमा विशेष सम्बोधन गर्नेछन् ।

कार्यक्रमको मुख्य आकर्षण साइबर ठगीबाट बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा केन्द्रित रहनेछ । नेपालमा अरबौँ रुपैयाँ बराबरको साइबर ठगीका घटना भइसकेका छन् भने यस्ता अपराधहरूको संख्या र जटिलता निरन्तर बढ्दो क्रममा छ । विभिन्न प्रलोभनमार्फत ग्राहकको खातामा अनधिकृत पहुँच पुर्‍याई रकम ठगी गरिएका हजारौँ घटना सार्वजनिक भइसकेका छन् ।

यस सन्दर्भमा भारतको एचडीएफसी बैंकले साइबर ठगी विरुद्ध हासिल गरेको सफल अनुभव विशेष रूपमा प्रस्तुत गरिनेछ । सो अभियानको नेतृत्व गरेका ख्यातिप्राप्त बैंकर मनिश अग्रवालले बैंक तथा ग्राहकलाई साइबर ठगीबाट जोगाउन गरिएका प्रभावकारी रणनीति, व्यवहारिक उपाय र वास्तविक केसहरूको अनुभव सम्मेलनमा साझा गर्नेछन् । साथै, बैंकहरुमा रहेका म्युल खातालाई सफल रुपमा निष्क्रिय पार्ने आफ्नो अनुभव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी, भारतिय केन्द्रीय बैंकको साइबर सुरक्षा स्थायी समितिका सदस्य, इन्टरपोलका प्रशिक्षक तथा अर्न्स्ट एन्ड योङ (ईवाई) का साइबर पार्टनर कृष्ण शास्त्रीले पनि साइबर जोखिम, अन्तर्राष्ट्रिय अभ्यास तथा नियामक दृष्टिकोणबारे आफ्नो प्रस्तुति दिनेछन् ।

सम्मेलनमा विश्वका अग्रणी कार्ड नेटवर्क सञ्चालक भिसाका विज्ञहरूको प्रस्तुति रहनेछ भने नेपाली बैंकिङ क्षेत्रका वरिष्ठ बैंकर, साइबर सुरक्षा विज्ञ तथा विशेषज्ञहरूको सक्रिय सहभागिता रहनेछ । यस कार्यक्रमलाई फोनपे, इसेवा, भिसा, एससीटी र ट्युटलर ले सहयोग र समर्थन प्रदान गरेका छन् ।

आयोजक पीसीआई एसएससी विश्वव्यापी रूपमा भुक्तानी डेटा सुरक्षासम्बन्धी मापदण्ड निर्धारण गर्ने तथा प्रमाणिकरण प्रदान गर्ने अन्तर्राष्ट्रिय संस्था हो। नेपाल राष्ट्र बैंकले कार्ड जारी गर्ने संस्थाहरूका लागि (पीसीआई डीएसएस) प्रमाणिकरण अनिवार्य गरेको छ । काठमाडौं फिन्टेक बैंक, वित्तीय संस्था तथा फिन्टेक क्षेत्रको क्षमता अभिवृद्धि, अनुसन्धान, ज्ञान विकास तथा नीति संवादमा समर्पित संस्था हो ।