पुसमा भित्रियो पौने २ खर्बको वस्तु, ६ महिनामा साढे ९ खर्ब आयात हुँदा डेढ खर्ब निर्यात्

साउनमा १ खर्ब ४३ अर्ब, भदौमा १ खर्ब ६२ अर्ब ११ करोड, असोजमा १ खर्ब ६२ अर्ब ९२ करोड, कात्तिकमा १ खर्ब ४१ अर्ब, मंसिरमा १ खर्ब ५७ अर्ब र पुसमा १ खर्ब ७३ अर्ब रुपैयाँको वस्तु भित्रिएको विभागको तथ्यांक छ ।

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा आयात व्यापार उच्च भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ९ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । जुन गत आर्थिक वर्षको ६ महिनाको ८ खर्ब २२ अर्ब रुपैयाँको तुलनामा १४.१८ प्रतिशत बढी हो । आयात व्यापार पुसमा भने ६ महिनायताकै उच्च देखिएको छ ।

विभागका अनुसार पुसमा १ खर्ब ७३ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । त्यसअघि साउनमा १ खर्ब ४३ अर्ब, भदौमा १ खर्ब ६२ अर्ब ११ करोड, असोजमा १ खर्ब ६२ अर्ब ९२ करोड, कात्तिकमा १ खर्ब ४१ अर्ब र मंसिरमा १ खर्ब ५७ अर्ब रुपैयाँको वस्तु भित्रिएको विभागको तथ्यांक छ ।

यस्तै छ महिनामा निर्यात करिब डेढ खर्ब रुपैयाँ पुगेको छ । पछिल्लो ६ महिनामा निर्यात गत वर्षको सोही अवधिको तुलनामा ४३.७७ प्रतिशतले बढी हो । विभागका अनुसार साउनदेखि पुससम्म १ खर्ब ४२ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । त्यसमध्ये २६ अर्ब रुपैयाँको वस्तु निर्यात पुसमा भएको छ । त्यस्तै, मंसिरमा २३ अर्ब रुपैयाँको वस्तु निर्यात भएको तथ्यांक छ ।