घरजग्गा कारोबारबाट ६ महिनामा करिब २२ अर्ब राजस्व सङ्कलन

सरकारले घरजग्गा कारोबारबाट चालु आर्थिक वर्षको ६ महिनामा २१ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ राजस्व उठाएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो पछिल्ला तीन वर्षमा सबैभन्दा बढी हो ।

काठमाडौं । सरकारले घरजग्गा कारोबारबाट चालु आर्थिक वर्षको ६ महिनामा २१ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ राजस्व उठाएको छ । 

 भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो पछिल्ला तीन वर्षमा सबैभन्दा बढी हो । सरकारले सोही अवधिमा आर्थिक वर्ष २०७९/०८० मा १८ अर्ब २४ करोड, आर्थिक वर्ष २०८०/०८१ मा १८ अर्ब २७ करोड र आर्थिक वर्ष २०८१/०८२ मा २० अर्ब ८३ करोड राजस्व उठाएको थियो । विभागअनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी पुसमा राजस्व उठेको छ । पुसमा मात्रै ५ अर्ब १७ करोड रुपैयाँ राजस्व उठाएको छ । सबैभन्दा कम कात्तिकमा २ अर्ब ७५ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । असोजमा २ अर्ब ७५ करोड ८५ लाख, भदौमा ३ अर्ब १४ करोड ७ लाख, साउनमा ३ अर्ब २८ करोड र मंसिरमा ४ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ राजस्व उठेको थियो । चालु आर्थिक वर्षको साउनमा १ लाख ४ हजार २१८ पटक घरजग्गा कारोबार भएकामा भदौमा १ लाख २ हजार ९७१ पटक कारोबार भएको थियो । तर २३ भदौको जेन–जी आन्दोलनपछि कारोबारमा उल्लेख्य कमी आएको थियो । २४ भदौको प्रदर्शनमा सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालयमा क्षति पुगेको थियो । मुलुकमा अन्तरिम सरकार निर्माण भए पनि लगानीकर्ताहरूमा उत्साह नहुँदा कात्तिक र असोजमा घरजग्गाका कारोबारले गति लिन सकेन ।

मालपोत कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालयले सेवा कर, रजिस्ट्रेसन दस्तुर, डोर सुविधा शुल्क, पुँजीगत लाभकर, विलम्ब शुल्कलगायत विभिन्न शीर्षकमा राजस्व उठाउँदै आएको विभागले जनाएको छ । यसमध्ये पुँजीगत लाभकरबापत उठेको राजस्व मात्रै संघ सरकारलाई जान्छ भने बाँकी प्रदेश र पालिकाहरूमा बाँडफाँट हुने गरेको विभागले जनाएको छ ।