कांग्रेस सभापतिबाट अपदस्त भएसँगै देउवा ३ दसकपछि निर्वाचनबाट बाहिर, आरजु पनि आउट
जेनजी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित घरमै आक्रमणमा परेका देउवा र देउवापत्नी तथा निवर्तमान परराष्ट मन्त्री आरजु राणा देउवा दुबै जना निर्वाचन प्रक्रियाबाट बाहिरिएका हुन् । सभापति देउवालाई कांग्रेसको विशेष महाधिवेशनबाट गलहत्याईएको थियो ।
काठमाडौं । नेपाली कांग्रेसको पार्टी सभापतिबाट अपदस्त भएसँगै पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा ३ दसकपछि निर्वाचन प्रक्रियाबाट बाहिरएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित घरमै आक्रमणमा परेका देउवा र देउवापत्नी तथा निवर्तमान परराष्ट मन्त्री आरजु राणा देउवा दुबै जना निर्वाचन प्रक्रियाबाट बाहिरिएका हुन् ।
देउवा निकट भानु देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु।’ देउवाले चुनाव नलड्ने जानकारी गराउँदा यता उनकी पत्नी आरजु राणा देउवा टिकटबाट बन्चित भएकी छन् । उनको क्षेत्र कैलाली–५ मा कांग्रेसले नारायण शाहलाई टिकट दिएको छ ।
आक्रमण लगत्तै पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपाध्यक्ष पूर्णबहादुर खड्कालाई दिएका सभापति देउवालाई कांग्रेसको विशेष महाधिवेशनबाट गलहत्याईएको थियो । पार्टी केन्द्रिय समितिको निर्णयविनै महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पहलकद्मीमा पुस २७ देखी २९ गतेसम्म भएको विशेष महाधिवेशनले थापालाई सभापति चयन गरेको थियो । विशेष महाधिवेशनमा देउाव पक्षधर कोही पनि सहभागि भएका थिएनन् ।
थापा सभापतिमा निर्वाचित भएपछि देउवा अहिले राजनीतिक जीवनको सबैभन्दा सकसपूर्ण मोडमा छन् । विशेष महाधिवेशनबाट चुनिएको कार्यसमितिले देउवालाई सक्रिय राजनीतिबाट बिदा लिन र अभिभावक बन्न आग्रह गर्दैै आएको छ । देउवाले भने विशेष महाधिवेशनलाई मान्यता दिएका छैनन् । निर्वाचन आयोगले थापा समूहको कार्यसमितिलाई अद्यावधिक गरेको जानकारी दिएसँगै देउवा पक्षधर अहिले आधिकारिकताका लागि सर्वोच्च अदालतसँग गुहार मागिरहेको छ । पूर्वकार्यवाहक सभापति खड्काले दिएको निवेदनउपर आज सर्वोच्चमा सुनुवाई हुँदैछ ।
विद्यार्थी राजनीतिबाट कांग्रेसको उच्च पदमा पुगेका देउवा २०४८ सालदेखि निरन्तर संसदीय राजनीतिमा थिए । २०७९ सालको निर्वाचनसमेत गरेर उनले ७ वटा संसदीय निर्वाचन जितेका छन् ।