निर्वाचन तालिकामा कुनै फेरबदल हुँदैनः कार्यबाहक प्रमुख आयुक्त भण्डारी
कुनै पनि विषयवस्तुलाई संशोधन गर्ने थप्ने घटाउनेलगायत काम हुँदैन । तोकिएकै समयमा मनोनयन पत्र दाखिला हुन्छ र निर्वाचन सम्पन्न हुन्छ । आयोगले निर्धारण गरेको निर्धारित समयभित्र मनोनयन पत्र दाखिला हुनुपर्छ ।
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको तालिकामा हेरफेर नहुने बताएका छन् ।
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले निर्वाचन तालिका नै स्थगित गर्न निवेदन दिएकामा कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले घोषित तालिकामाकुनै हेरफेर नहुने जानकारी दिएका हुन् । भण्डारीले उम्मेदवारी दर्ताको अघिल्लो दिन सोमबार एक अपिल जारी गर्दै निर्वाचन तालिकामा संशोधन नहुने उल्लेख गरेका छन् । भण्डारीले अदालतबाट आदेश आएको अवस्थामा बाहेक आयोगले तालिका अनुसार नै काम अगाडि बढाउने बताए ।
‘कुनै पनि विषयवस्तुलाई संशोधन गर्ने थप्ने घटाउनेलगायत काम हुँदैन । तोकिएकै समयमा मनोनयन पत्र दाखिला हुन्छ र निर्वाचन सम्पन्न हुन्छ। आयोग यसैमा ढुक्क छ । आयोगले निर्धारण गरेको निर्धारित समयभित्र मनोनयन पत्र दाखिला हुनुपर्छ । दाखिला भइसकेपछि जाँचबुझ गर्ने लगायत कानुनी प्रक्रियाका कुरा आफ्नै ठाउँमा रहन्छन्,’ भण्डारीले भने, ‘अदालतले आदेश गरिसकेपछि त्यो सबैले मान्नुपर्छ। अन्यथा भन्ने विषय भएन। तर अदालतमा रहेको विषयवस्तुलाई अहिले विश्लेषण गरेर यो हुन्छ र त्यो हुन्न भनेर भन्दैनौं ।’
उम्मेदवारी दर्ताका लागि मंगलबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मको समय तोकिएको छ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत चयन भएको गगन थापाको नेतृत्वको कार्यसमितिलाई आयोगले मान्यता दिएकोप्रति विरोध जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष अदालत गएको छ ।