साउन-अरोजमा ३.०२ प्रतिशत आर्थिक वृद्धि, सबै क्षेत्रमा देखियो चमक

विद्युत् उत्पादन तथा वितरण, वित्तीय क्रियाकलाप, पशुजन्य उत्पादन,व्यापार, पर्यटन, सेवा, फलफूल तथा तरकारीलगायत विभिन्न क्रियाकलापमा भएको वृद्धिका कारण कुल गार्हस्थ्य उत्पादन ३.०२ प्रतिशतले बढ्ने निष्कर्ष छ ।

तस्बिरः एआई

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो त्रैमास (साउन(असोज अवधि) मा ३.०२ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । 

राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक प्रतिवेदनअनुसार विद्युत् उत्पादन तथा वितरण, वित्तीय क्रियाकलाप, पशुजन्य उत्पादन,व्यापार, पर्यटन, सेवा, फलफूल तथा तरकारीलगायत विभिन्न क्रियाकलापमा भएको वृद्धिका कारण कुल गार्हस्थ्य उत्पादन ३.०२ प्रतिशतले बढ्ने निष्कर्ष निकालेको हो । प्रतिवेदनअनुसार पहिलो त्रैमासमा सबै १८ वटै औद्योगिक वर्गीकरणमा धनात्मक वृद्धि दर देखिएको छ। जसमध्ये विद्युत् तथा ग्यासमा सबैभन्दा धेरै वृद्धि दर अर्थात् १४.९१ प्रतिशत छ ।

वित्तीय तथा बीमा ७.०७ प्रतिशत र प्राविधिक लगायत पेशागत क्रियाकलापमा ५.५२ प्रतिशतको वृद्धि दर छ । यद्यपी अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान रहेको कृषि क्षेत्रले १.३६ प्रतिशत वृद्धि दर समाएको छ । थोक तथा खुद्रा व्यापारमा ३.८९, शिक्षामा २.६८, खानी तथा उत्खनन् क्षेत्रमा ३.७६ र निर्माण क्षेत्रको वृद्धि दर ३.२६ प्रतिशत छ ।