रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता (पूर्ण पाठसहित)
विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता सम्बन्धित काम सरकारी वकिलहरूमार्फत हुनेछ । लामिछानेमाथिको सहकारी ठगी सम्बन्धी मुद्दा भने यथावत् छ ।
काठमाडौं । सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ ।
महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको हो ।
महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेछन् । यो काम सम्बन्धित सरकारी वकिलहरूमार्फत हुनेछ । लामिछानेमाथिको सहकारी ठगी सम्बन्धी मुद्दा भने यथावत् छ ।
महान्यायाधिवक्ता सबिता भण्डारी बरालले बुधबार ४ वटा जिल्ला अदालतमा चलिरहेको अभियोगपत्र संशोधन गर्न स्वीकृत दिने निर्णय गरेकी थिइन् । सहकारी ठगीसँगै जोडेर लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिइदिन लामिछानेको तर्फबाट यसअघि नै निवेदन परेको थियो ।