जिली EX5 मा एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा, नेपालमा बिक्री भएका सबै गाडीमा लागू हुने

जिली अटो ग्रुपले नेपालमा उपलब्ध जिली EX5 विद्युतीय SUV मा एप्पल कारप्ले तथा एन्ड्रोइड अटो कनेक्टिभिटी सुविधा प्रदान गरेको छ । यस नयाँ प्राविधिक स्तरोन्नतिले जिली EX5 को सवारी साधनको डिजिटल इकोसिस्टमलाई थप सुदृढ बनाउँदै नेपालमा तीव्र रूपमा विस्तार हुँदै गएको विद्युतीय सवारी बजारमा जिलीका गाडीहरूको उपस्थितिलाई अझ मजबुत बनाएको छ ।

काठमाडौं । चीनको अटोमोबाइल निर्माता जिली अटो ग्रुपले नेपालमा उपलब्ध जिली EX5 विद्युतीय SUV मा एप्पल कारप्ले तथा एन्ड्रोइड अटो कनेक्टिभिटी सुविधा प्रदान गरेको छ । यस नयाँ प्राविधिक स्तरोन्नतिले जिली EX5 को सवारी साधनको डिजिटल इकोसिस्टमलाई थप सुदृढ बनाउँदै नेपालमा तीव्र रूपमा विस्तार हुँदै गएको विद्युतीय सवारी बजारमा जिलीका गाडीहरूको उपस्थितिलाई अझ मजबुत बनाएको छ ।



एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट प्रणालीले गाडीलाई चालकको स्मार्टफोनसँग सहज एकीकरणमार्फत सुरक्षा, सुविधा र कनेक्टिभिटीलाई एकसाथ जोड्दै समग्र ड्राइभिङ अनुभवलाई उल्लेखनीय रूपमा उकास्ने बताइएको छ । सफ्टवेयर अपडेटमार्फत एप्पल कारप्ले तथा एन्ड्रोइड अटो कनेक्टिभिटी उपलब्ध भएपछि सीरी वा गुगल असिस्टेन्ट द्वारा सञ्चालित ह्यान्ड्स–फ्री भ्वाइस कमाण्डको माध्यमबाट चालकहरूले फोन समात्न नपरी कल गर्न, सन्देश पठाउन वा प्राप्त गर्न तथा मार्ग निर्देशन लिन सक्नेछन् । यसले हात स्टेयरिङमा र आँखा सडकतर्फ केन्द्रित राख्न सहयोग गरी सवारी अनुभवलाई अझ सुरक्षित र उत्कृष्ट बनाउनेछ ।



नयाँ प्रणालीले स्मार्टफोन इन्टरफेसलाई गाडीको इनबिल्ट डिस्प्लेमा मिरर गर्दै म्याप, स्पोटिफाई र म्यासेजजस्ता एपहरू सजिलै प्रयोग गर्न सकिने व्यवस्था गरेको छ । सामान्य ब्लुटुथ कनेक्टिभिटीको तुलनामा उच्च ध्वनि गुणस्तर र वास्तविक समयको ट्राफिक अपडेटसहितको नेभिगेसन सुविधा पनि यसको प्रमुख विशेषता हो ।



नेपालका लागि जिली EX5 को आधिकारिक वितरक एलआरआर मोर्टसले लन्चदेखि हालसम्म बिक्री भएका सबै जिली EX5 मा यो सुविधा उपलब्ध गराउन थालेको जनाएको छ । कम्पनीका अनुसार सेवा टोलीहरूले ग्राहकको घर वा कार्यालयमै पुगेर सफ्टवेयर अपडेटमार्फत सुविधा इन्स्टल गरिरहेका छन्, जसले अपग्रेड प्रक्रिया झन्झटरहित बनेको छ ।



एलआरआर मोर्टसका प्रबन्ध निर्देशक जीवनजंग शाहीका अनुसार, यो स्मार्ट कनेक्टिभिटी अपग्रेडले जिली EX5 लाई प्रिमियम ग्लोबल ईभीहरूसँग प्रतिस्पर्धी बनाएको छ । कम्पनीले भविष्यमा नेपाल आयात हुने जिली EX5 सवारी साधनहरूमा एप्पल कारप्ले र एन्ड्रोइड अटो प्रणाली इनबिल्ट नै रहने जानकारी पनि दिएको छ ।