आफूविरुद्धका मुद्दा राजनीतिक भएको दाबी गर्दै रवि लामिछानेद्वारा आरोप फिर्ताको माग
रास्वपा का सभापति रवि लामिछानेले आफूविरुद्ध दायर भएकामध्ये केही मुद्दा फिर्ताका गरिदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका छन् । उनले महान्यायाधिवक्ता कार्यालयमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप फिर्ता लिइदिन आग्रह गरेका हुन् । सहकारी ठगीको आरोपमा मात्रै बढी कैद सजाय माग गर्न नमिल्ने भएपछि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप जोडेर अधिकतम सजायको माग गरिएको थियो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध दायर भएकामध्ये केही मुद्दा फिर्ताका गरिदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका छन् । उनले महान्यायाधिवक्ता कार्यालयमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप फिर्ता लिइदिन आग्रह गरेका हुन् ।
सहकारी ठगीको आरोपमा मात्रै बढी कैद सजाय माग गर्न नमिल्ने भएपछि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप जोडेर अधिकतम सजायको माग गरिएको थियो । १० वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा प्रमाण भेटिए थुनामा पठाउन सजिलो हुने भएकाले आफूलाई राजनीतिक रूपमा फसाउन खोजिएको दाबी उनले गरेका छन् । महान्यायाधिवक्ता कार्यालयका अनुसार, पूरक निवेदन प्राप्त भएपछि हाल सहन्यायाधिवक्ताको तहमा अध्ययन र छलफल भइरहेको छ । त्यहाँबाट रायसहित अघि बढेपछि नायव महान्यायाधिवक्ता हुँदै महान्यायाधिवक्तासमक्ष पेश हुने प्रक्रिया रहेको छ ।
उनीमाथि विभिन्न जिल्ला अदालतमा सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरेको आरोप लागेको थियो । मुलुक फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा ११६ मा मुद्दा फिर्तासम्बन्धी व्यवस्था छ । उक्त कानूनमा भएको व्यवस्था अनुसार, केही जघन्य र गम्भिर प्रकृतिका बाहेक अरु मुद्दा फिर्ता लिन पाइन्छ । र, सम्पत्ति शुद्धिकरणको आरोप फिर्ता लिन नपाइने मुद्दाको सूचीमा छ । पुर्पक्ष थुनामा रहेका लामिछाने केही साताअघि उच्च अदालत बुटबलको धरौटी तथा जमानत सम्बन्धी आदेशबाट कारागारमुक्त भएका थिए ।