माघका लागि बैंकहरूको ब्याजदर थप घट्यो, प्राइमले बढाउँदा ८ बैंकले राखे स्थिर
नयाँ ब्याजदरको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा पुसको तुलनामा माघमा ०.१४९५ प्रतिशत विन्दुले झरेको छ । पुसमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.८३४ प्रतिशत रहेकोमा माघमा ४.६८४५ प्रतिशतमा झरेको छ।
काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहका कारण बैंकहरूलाई ब्याजदर घटाउन थप दबाब परेको हो । बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्दै आएका छन् ।
२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा पुसको तुलनामा माघमा ०.१४९५ प्रतिशत विन्दुले झरेको छ । पुसमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.८३४ प्रतिशत रहेकोमा माघमा ४.६८४५ प्रतिशतमा झरेको छ।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरसँगै बचत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटेको छ । निक्षेपको ब्याजदर घट्दा ब्याजको आधार दर (वेस रेट) घट्न गई कर्जाको ब्याजदरसमेत घट्न पुग्छ । माघमा व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर माघमा सबैभन्दा बढी राखेको ग्लोबल आईएमई बैंकको ५.५ प्रतिशत छ ।
पुसको तुलनामा माघमा ११ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाउँदा ८ बैंकले स्थिर राखेका छन् भने प्राइम कमर्सियल बैंकले सामान्य बढाएको छ । अधिकांश बैंकले ब्याजदर घटाएसँगै औसतमा ब्याजदर घटेको छ ।
ब्याजदर घटाएका बैंकहरूमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स बैंक इन्टरनेशनल छन् । त्यस्तै ब्याजदर स्थिर राखेका बैंकहरूमा नेपाल बैंक, एनआईसी एसिया, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी छन् ।
बैंकहरूले छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर दिँदै आएका छन् । बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ । बुधबारसमेत गरि राष्ट्र बैंकले २ खर्ब रुपैयाँबराबर लरलता एक वर्षीय ऋणपत्रमार्फत खिचिसकेको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि ऋणपत्र, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बैंकको पैसा खिच्दै आएको छ ।