सिन्धुलीमा नेपाल एसविआई बैंक लुटियो, गाडी र चालक नियन्त्रणमा

नकाब लगाएर आएको ६-७ जनाको एउटा समूहले बैंकका सुरक्षा गार्डमाथि प्रहार गरी र कर्मचारीलाई नियन्त्रणमा लिएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो साँझ ७ बजेतिरको घटना हो ।

काठमाडौं । सिन्धुलीमा नेपाल एसविआई बैंकको शाखा लुटिएको छ । जिल्लाको घ्याङलेख गाउँपालिकामा रहेको बैंकको शाखामा मंगलबार साँझमा नकाबधारी समूहले लुटपाट गरेको हो ।

नकाब लगाएर आएको ६-७ जनाको एउटा समूहले बैंकका सुरक्षा गार्डमाथि प्रहार गरी र कर्मचारीलाई नियन्त्रणमा लिएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो साँझ ७ बजेतिरको घटना हो ।

स्थानीयका अनुसार भने नकाबधारीहरू छिरेर त्यहाँ रहेका सेक्युरिटी गार्डलाई हिर्काएर कर्मचारी नियन्त्रण लिएर पैसा लुटेर भागेका थिए । पहिचान नखुल्ने गरी आएको करिब ५/६ जनाको समूहले सुरक्षा गार्डमाथि कुटपिट गरी बैंकमा लुटपाट गरेको एसपी लालध्वज सुवेदीले बताए । घटनापछि राति साढे ८ बजेतिर मात्रै प्रहरीलाई खबर भएको थियो ।

लुटेरा समूहले बैंकमा कार्यरत सुरक्षा गार्डमाथि धारिलो हतियार प्रहार गरेका छन् भने अन्य कर्मचारीहरूको हात बाँधेर बैंकभित्रको रकम लुटेका हुन् । लुटेरालाई प्रतिवाद गर्न खोज्ने सुरक्षा गार्डको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बैंक लुटपाटमा संलग्नहरू चढेर गएको गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको । उक्त गाडीमा नकाबधारीहरू बिहेमा जाने भन्दै चढेको र अन्य कुरा थाहा नभएको चालकले प्रहरीसँग सोधपुछका क्रममा बताएको जनाइएको छ । लुटपाटपछि अहिले प्रहरी सक्रिय भएको र अनुसन्धान प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ । के कति लुटिएको र क्षति भएको भन्ने विषयमा केही खुलेको छैन ।