काँग्रेस विशेष महाधिवेशन: महामन्त्रीको प्रतिवेदन पारितपछि नेतृत्व चयनको कार्यसूची

काठमाडौँ । नेपाली काँग्रेसको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्र आजपनि हुदै छ ।सोमबारदेखि शुरु भएको बन्दसत्रमा दुवै महामन्त्रीले पेश गरेका प्रतिवेदनमा छलफल जारी रहेको छ । आज बिहान ९ बजेदेखि बन्दसत्र शुरु हुने र सोमबारदेखि ९ समुहमा शुरु गरिएको समुहगत छलफलले निरन्तरता पाउने विशेष महाधिवेशन प्रचार प्रसार समितिका संयोजक सुवास पोखरेलले जानकारी दिएका छन् ।पोखरेलका अनुसार प्रतिवेदन पारित भएपछि विशेष महाधिवेशनको बन्दसत्र नेतृत्व चयनमा केन्द्रित हुने भएको छ । यद्यपी नेताहरुबीच सहमतिको प्रयास भइरहेकाले छलफलको निष्कर्षपछि मात्र नेतृत्व चयनको विषयले प्रवेश पाउने बताइएको छ । सभापति शेरबहादुर देउवको पहलमा दुवै महामन्त्रीहरुसँग सोमबारदेखि नै छलफल जारी रहेकाले त्यसको निष्कर्षपछि मात्र बन्दसत्र नेतृत्व चयनको कार्यसूचीमा प्रवेश गर्ने छ ।विशेष महाधिवेशनमा अहिलेसम्म ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले नाम दर्ता गराएको आयोजकले जानकारी दिएका छन् । आइतबार २६६२ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएकोमा सोमबार ६.२४ प्रतिशत बढेर कुल ६३ प्रतिशत प्रतिनिधिले नाम दर्ता गरेको जानकारी दिइएको छ ।