कांग्रेस विशेष महाधिवेशन भोलिसम्म लम्बिने, निर्वाचन समिति भंग भएर नयाँ प्रक्रिया सुरु हुने दावी

भोलि निर्वाचन समिति लगायत भंग हुन्छ र नयाँ निर्वाचन समिति अगाडि बढ्छ । नितिमा परिवर्तन र नेतृत्वमा परिवर्तन । त्यो परिवर्तन नभई अब कुरो हुँदैन ।

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आइतबारदेखि भृकुटीमण्डमा जारी दोस्रो विशेष महाधिवेशन भोलि (मंगलबार) सम्म लम्बिने भएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा पुग्न नसकेपछि बन्द सत्र लम्बिएको हो ।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल चलिरहँदा बन्दसत्रमा सो जानकारी दिइएको हो । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ । यो क्रम मंगलबार पनि चल्नेछ । त्यसपछिमात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने छ ।

विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको दाबी गरेका छन् । विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले ६३ प्रतिशत हस्ताक्षर कटेको र प्रतिनिधि अझै आउने क्रम जारी रहेको बताए ।

हिजो उद्घाटन सत्र र आज बन्दसत्र गरेको विशेष पक्षधरहरूले भोलिबाट निर्वाचन प्रक्रिया थाल्ने बताएका छन् । ‘महामन्त्रीको प्रतिवेदनउपर भोलि हलले निर्णय दिन्छ, नितिबारे । भोलि निर्वाचनको प्रकृया थाल्छौ। भोलिलाई पनि हल बुक भएको छ,’ मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा संयोजक पोखरेलले भने, ‘भोलि निर्वाचन समिति लगायत भंग हुन्छ र नयाँ निर्वाचन समिति अगाडि बढ्छ । नितिमा परिवर्तन र नेतृत्वमा परिवर्तन । त्यो परिवर्तन नभई अब कुरो हुँदैन ।’ भोलि पार्टी नेतृत्व महाधिवेशनस्थल आए त्यही अनुसार अघि बढ्ने र नआए स्वभाविक रुपमा प्रक्रिया अघि बढ्ने पोखरेलले बताए ।

सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशन प्रति असहमति राखिरहेका छन् ।