आईक्यानको ‘एकाउन्टेन्सी’ सेवा निर्यात परियोजना, एक दशकमा ६ अर्ब डलर भित्र्याउने लक्ष्य

फिलिपिन्स, भारत र भियतनामजस्ता देशहरूले आउटसोर्सिङ क्षेत्रबाट आफ्नो कुल गार्हस्थ उत्पादनमा ७ देखि ८ प्रतिशतसम्म योगदान गरिरहेका छन् । नेपालमा पनि कम श्रम लागत, अंग्रेजी भाषामा दक्ष युवा जनशक्ति र अनुकूल टाइम जोनका कारण अमेरिका, बेलायत र अष्ट्रेलियाजस्ता मुलुकका सेवाहरू नेपाल भित्र्याउने पर्याप्त सम्भावना रहेको बताइएको छ ।

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था आईक्यानले एकाउन्टेन्सी सेवा निर्यातको पहल सुरु गरेको छ । संस्थाले औपचारिक रुपमा परियोजना नै बनाई लेखा तथा वित्तीय सेवा निर्यातको पहल सुरु गरेको हो ।

नेपाली लेखापरीक्षण सेवालाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी विदेशी मुद्रा भित्र्याउने योजना संस्थाको छ । संस्थाले यस्तो सेवा निर्यात मार्फत रोजगारी र आयआर्जन बढाउने लक्ष्य राखेको आईक्यानका अध्यक्ष सीए निल सारूले बताए ।

बुधबार काठमाडौँमा आयोजित विशेष समारोहमा परियोजनाको औपचारिक शुभारम्भसँगै नेपाली सेवा प्रदायकहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने डिजिटल अकाउन्टिङ आउटसोर्सिङ पोर्टल को पनि उद्घाटन गरिएको हो। ‘ग्लोबल अकाउन्टिङ इनिसियटिभ इन नेपाल’ परियोजना मार्फत सेवा दिन चाहनेले आफूलाई दर्ता गरेर कामको प्रक्रिया अघि बढाउन सक्छन् । त्यसका लागि आवश्यक प्लेटपर्म पनि आईक्यानले निर्माण गरेको छ ।

हाल यस क्षेत्रबाट वार्षिक करिब ३ करोड अमेरिकी डलर आम्दानी भइरहेको अवस्थामा आगामी १० वर्षभित्र यसलाई ६ अर्ब अमेरिकी डलरभन्दा बढी पुर्‍याउने लक्ष्य राखिएको छ। साथै, सोही अवधिमा १ लाख ५० हजारभन्दा बढी दक्ष रोजगारी सिर्जना गर्ने दीर्घकालीन लक्ष्य पनि परियोजनाले लिएको आइक्यानले जनाएको छ ।

आइक्यानका अनुसार परियोजनाको मूल उद्देश्य नेपालको लेखा तथा वित्तीय सेवालाई केन्द्रमा राखेर विश्वसनीय आउटसोर्सिङ गन्तव्यको रूपमा ब्रान्डिङ गर्नु, रणनीतिक साझेदारी विकास गर्नु र दिगो रोजगारी सिर्जना गर्नु रहेको छ । गेन परियोजनाले पाँच वर्षभित्र वार्षिक ५० हजारभन्दा बढी तथा आगामी दश वर्षमा एक लाख ५० हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । यसै अवधिमा सेवा निर्यातमार्फत बर्सेनि करिब रु ८० अर्ब बराबरको आय देशमा भित्र्याउने योजनासमेत छ ।

नेपालमा हाल ९ हजार ७४५ आइक्यान सदस्य र १५ हजारभन्दा बढी विद्यार्थी लेखा तथा वित्तीय क्षेत्रमा आबद्ध छन् । यी उपलब्ध जनशक्तिलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको तालिम प्रदान गरी विश्व बजारमा प्रतिस्पर्धी बनाउने गेन परियोजनाको प्रमुख उद्देश्य रहेको छ । गेन परियोजना मुख्य रूपमा बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) र नलेज प्रोसेस आउटसोर्सिङ (केपीओ) मा केन्द्रित रहेको छ। सन् १९९० को दशकमा डाटा इन्ट्री र कल सेन्टरबाट सुरु भएको आउटसोर्सिङ सेवा अहिले वित्तीय विश्लेषण, लेखापरीक्षण, कर परामर्श तथा कानुनी सेवाजस्ता उच्च मूल्यका क्षेत्रमा विस्तार भइसकेको सन्दर्भमा नेपालले यही केपीओ सेग्मेन्टमा आफ्नो सशक्त उपस्थिति स्थापित गर्ने लक्ष्य लिएको आइक्यानले जनाएको छ ।

परियोजना सफल बनाउन आइक्यानले देशको अन्तर्राष्ट्रिय ब्रान्डिङ र रणनीतिक मार्केटिङ, जनशक्तिको सीप विकास र क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय एक्सपोजर तथा सहकार्य विस्तार, अकाउन्टिङ आउटसोर्सिङ पोर्टलमार्फत सेवा प्रदायक र ग्राहकबीचको पहुँच सुदृढीकरण, उपयुक्त इकोसिस्टम तथा पूर्वाधार निर्माण र अनुसन्धान तथा नीतिगत सल्लाह प्रदानजस्ता रणनीतिहरू अघि सारेको छ ।

प्रोजेक्टलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आइक्यानले सरकारसँग सेवा निर्यातमा कर छुट, मूल्य अभिवृद्धि करसम्बन्धी स्पष्टता, वैदेशिक विनिमय प्रक्रिया सरलीकरण, डेटा संरक्षणसम्बन्धी कडा कानुनी व्यवस्था तथा उच्च गतिको इन्टरनेटजस्ता पूर्वाधार सुनिश्चित गर्न माग गरेको छ ।

साथै, नेपाली लेखा फर्महरूलाई विदेशमा शाखा कार्यालय खोल्न पाउने कानुनी व्यवस्था मिलाउन र वैदेशिक लगानी आकर्षित गर्न आवश्यक नीतिगत सुधारका लागि सरकारसँग सहकार्य गर्ने जनाएको छ । कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार फिलिपिन्स, भारत र भियतनामजस्ता देशहरूले आउटसोर्सिङ क्षेत्रबाट आफ्नो कुल गार्हस्थ उत्पादनमा ७ देखि ८ प्रतिशतसम्म योगदान गरिरहेका छन् । नेपालमा पनि कम श्रम लागत, अंग्रेजी भाषामा दक्ष युवा जनशक्ति र अनुकूल टाइम जोनका कारण अमेरिका, बेलायत र अष्ट्रेलियाजस्ता मुलुकका सेवाहरू नेपाल भित्र्याउने पर्याप्त सम्भावना रहेको बताइएको छ ।

आइक्यानले सञ्चालनमा ल्याएको नयाँ डिजिटल पोर्टलमा नेपाली लेखा व्यवसायी तथा फर्महरूले आफ्नो विवरण दर्ता गर्न सक्नेछन्, जसले विदेशी ग्राहकलाई विश्वसनीय नेपाली सेवा प्रदायक छनोट गर्न सहज बनाउने विश्वास संस्थाले लिएको छ। आइक्यानले गेन परियोजनामार्फत सेवा निर्यात विस्तार गर्दै राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा ठोस योगदान पुग्ने अपेक्षा गरेको छ ।