नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
पाल राष्ट्र बैंकले पुनः एक वर्षे अवधिका लागि २० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले पुनः एक वर्षे अवधिका लागि २० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । यस ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ 'ङ’ नामक ऋणपत्र खरिदका लागि आज दिउँसो २ बजेसम्म अनलाइन बिडिङ प्रणाली सफ्टवेयरमार्फत बोलकबोल गर्न सकिनेछ। केही साता अघि नेपाल राष्ट्र बैंकले १ वर्ष अवधिको लागि २ खर्ब रुपैयाँको राष्ट्र बैंक ऋणपत्र जारी गर्न स्वीकृत गरेको थियो । जसमध्ये केन्द्रीय बैंकले बुधबार पाँचौ चरणमा २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लागेको हो ।
यसको सावाँ आगामी २०८३ पुस २३ गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने बताइएको छ । बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम पाँच करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निस्शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । ऋणपत्रको परिपक्व मिति अगावै सोबापतको रकम फिर्ता नहुने पनि राष्ट्र बैंकले जनाएको छ ।