वित्तीय क्षेत्रमा अधिक तरलताको चाप, एक सातामै एक वर्ष अवधिको ७५ अर्ब ऋणपत्र बिक्री

वित्तीय क्षेत्रमा बढ्दो तरलता व्यवस्थापन गर्न केन्द्रिय बैंकले विगतमा छोटो अवधिको ऋणपत्र निस्काशन गर्दै तरलता खिचिरहेकोमा पछिल्लो समय एक वर्ष अवधिको ऋणपत्र धमाधम विक्री गरिरहेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले तेस्रो पटक २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको छ । केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ’ग’ निष्कासन गरेको हो ।

राष्ट्र बैंकले १ वर्ष अवधिको २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको जनाएको छ । ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोल माध्यमबाट तय गरिने जनाइएको छ । ऋणपत्रमा न्युनतम ५ करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने छ ।

यसको सावाँ २०८३ पुस २० गते भुक्तानी हुनेछ । ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले मात्रै आवेदन दिने सक्नेछन् । ऋणपत्रमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाले त्यसलाई राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।

वित्तीय क्षेत्रमा बढ्दो तरलता व्यवस्थापन गर्न केन्द्रिय बैंकले विगतमा छोटो अवधिको ऋणपत्र निस्काशन गर्दै तरलता खिचिरहेकोमा पछिल्लो समय एक वर्ष अवधिको ऋणपत्र धमाधम विक्री गरिरहेको छ । यसअघि २०८३ पुस १४ गते र २०८३ पुस १६ गते सावाँ भुक्तानी गर्ने गरि २५/२५ अर्ब रुपैयाँको ऋणपत्र निस्काशन गरिएको थियो ।