सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कार्यालय समयपछि बन्द हुने

सालपा विकास बैंकले १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबरको १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । बैंकले चुक्ता पुँजीको ३३ प्रतिशत अर्थात् १७ करोड २३ लाख ८८ हजार रुपैयाँको सेयर निष्कासन अनुमति पाएको थियो ।

काठमाडौं । सालपा विकास बैंकले पुस १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपीओ) मा आवेदन दिने आज (पुस २० गते) अन्तिम दिन हो । वैदेशिक रोजगारीमा गएकालाई बाँडफाँट गरेपछि बैंकले दोस्रो चरणमा सर्वसाधारणका लागि बुधबारदेखि आवेदन खुलाएको हो ।

बैंकले १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबरको १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । बैंकले चुक्ता पुँजीको ३३ प्रतिशत अर्थात् १७ करोड २३ लाख ८८ हजार रुपैयाँको सेयर निष्कासन अनुमति पाएको थियो । बैंकको चुक्ता पुँजी हाल ५२ करोड २३ लाख रुपैयाँ छ । सर्वसाधारणले बैंकको सेयरमा अंकित मूल्य १०० रुपैयाँमा १० देखि अधिकतम् २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

गत असारसम्म बैंकको प्रति सेयर आम्दानी २.२४ रुपैयाँ छ । बैंकको प्रति सेयर नेटवर्थ १०५.१४ रुपैयाँ छ । जगेडा कोषमा २ करोड ७० लाख रुपैयाँ छ ।

आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ दिएको छ । यसले बैकको समयमा वित्तीय दायित्व पूण गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको जनाउँछ । बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ ।