राज्य र समाजले व्यवसायीलाई हेर्ने दृष्टिकोण नफेरिएसम्म लगानीको वातावरण बन्दैनः अध्यक्ष ढकाल

हालैको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि निकै ठूलो भौतिक र मानसिक आक्रमण भयो र त्यस्ता घटनामा संलग्न दोषीलाई कारबाही नभएसम्म आगामी दिनमा पनि निजी क्षेत्र असुरक्षित भईरहन्छ ।

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले राज्य र समाजले व्यवसायीलाई हेर्ने नजर नफेरियलेसम्म लगानीको वातावरण नबन्ने बताएका छन् ।

उद्योग वाणिज्य संघ चितवनको ५९ औँ साधारणसभालाई शनिबार सम्बोधन गर्दै ढकालले अझै पनि उद्योगी र व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेकोमा चिन्ता व्यक्त गरे । हालैको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि निकै ठूलो भौतिक र मानसिक आक्रमण भएको उल्लेख गर्दै ढकालले ती घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरे । 

दोषीलाई कारबाही नभएसम्म आगामी दिनमा पनि निजी क्षेत्र असुरक्षित भइरहने उनको ठम्याइ छ । निजी क्षेत्रका उद्योग प्रतिष्ठानमा आक्रमण हुन नदिने प्रतिबद्धता प्रधानमन्त्री सुशीला कार्कीले जनाएकाले सरकारले आवश्यक सुरक्षा दिनेमा आफू विश्वस्त रहेको उनले बताए । उनले सहज रूपमा व्यवसाय गर्ने वातावरण नभएसम्म मुलुकको आर्थिक गतिविधि चलायमान नहुने बताए । 

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठले संघले व्यवसायीहरूको हकहितका लागि निरन्तर काम गरिरहेको जानकारी दिए । उद्योगीहरूका समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारको पटक-पटक ध्यानाकर्षण गराइएको उनले बताए । साधारण सभाको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो । यो साधारण सभाले आगामी दुई वर्षका लागि संघको नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।