युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसर छ : प्रधानमन्त्री कार्की
देश निर्माणको मुख्य आधार स्वच्छ र निष्पक्ष निर्वाचन भएकाले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बन्दै गएको छ । बन्दसूची निर्वाचन आयोगमा पेस गरेसँगै निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोशेढुंगा पार भएको छ ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसर भएको बताएकी छिन् ।
तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्ले मंगलबार काठमाडौँको टुँडिखेलमा आयोजना गरेको तमु ल्होसार महोत्सवमा बोल्दै प्रधानमन्त्री कार्कीले विभिन्न परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोबाट मुलुकलाई अघि बढाउनुपर्नेमा जोड दिएकी हुन् ।
'देश निर्माणको मुख्य आधार स्वच्छ र निष्पक्ष निर्वाचन भएकाले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बन्दै गएको छ' प्रधानमन्त्री कार्कीले भनिन्, 'बन्दसूची निर्वाचन आयोगमा पेस गरेसँगै निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोशेढुंगा पार भएको छ । राजनीतिक दलहरूले उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवार दर्ता गरेका छन् ।'
प्रधानमन्त्री कार्कीले निर्वाचन प्रक्रियामा सबै पक्ष उत्साहका साथ सामेल हुने विश्वास व्यक्त गरिन् । सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको उनले स्पष्ट पारिन् । मुलुकले अब थप अस्थिरता नभई स्थिरता र विश्वास चाहेकाले सबै मिलेर शान्ति, एकता र समृद्धिको मार्गमा अघि बढ्नुको विकल्प नरहेको उनको तर्क छ ।
ल्होसार महोत्सवका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले तमु ल्होसारजस्ता पर्वहरूले आफ्नो मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावनालाई अझ बलियो बनाउन प्रेरित गर्ने बताइन् ।