रसुवागढीमा नेपाल-चीन जोड्ने बेलिब्रिज तयार, पुस १७ देखि नाका पूर्ण रुपमा खुल्ने
गत असार २४ गते चीनतर्फबाट बग्ने भोटेकोशी नदी (लेन्दे खोला) मा आएको भीषण बाढीले मितेरी पुल बगाएपछि नेपाल-चीनबिचको प्रमुख नाका पूर्णरूपमा ठप्प बनेको थियो । त्यसपछि दुई देशीय नाका पूर्णरूपमा अवरुद्ध भएको थियो ।
काठमाडौं । रसुवागढी नाका १ जनवरी २०२६ (१७ पुस) देखि सञ्चालनमा आउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाले यसको पुष्टि गरेको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार रसुवागढीमा बेलिब्रिज तयार भएको छ ।
गत असार २४ गते चीनतर्फबाट बग्ने भोटेकोशी नदी (लेन्दे खोला) मा आएको भीषण बाढीले मितेरी पुल बगाएपछि नेपाल-चीनबिचको प्रमुख नाका पूर्णरूपमा ठप्प बनेको थियो । त्यसपछि दुई देशीय नाका पूर्णरूपमा अवरुद्ध भएको थियो । साथै, सडक सम्पर्क समेत विच्छेद भएको थियो ।
अधिकारीका अनुसार नेपाल सरकार र चिनियाँ सरकारको द्विपक्षीय पहल, समन्वय र सहजीकरणमा उक्त स्थानमा बेलिब्रिज निर्माण सम्पन्न भई भार बहन क्षमता लगायत प्राविधिक पक्षसमेत परीक्षण भइरहेको छ । ६ महिनादेखि बन्द रहेको रसुवागढी नाका परिक्षणका लागि आंशिक रूपमा सञ्चालनमा आएको छ । चीन सरकारले बाढीले क्षति पुर्याएको पुल भएको स्थानमा बेलिब्रिज जडान गरेसँगै आइतबारदेखि परिक्षणका रुपमा आवतजावत सुचारू भएको हो ।
नाका आंशिक रूपमा खुले पनि मालसामान बोक्ने सवारी साधनहरूको आवतजावत १ जनवरी (पुस १७ गते)देखि मात्रै गर्ने तयारी छ । चीन र नेपाल जोड्ने मुख्य नाका रसुवागढी बन्द भएपछि अहिले चीनसँगको व्यापार मुस्ताङको कोरला र सिन्धुपाल्चोकको तातोपानी सरेको छ । तातोपानी नाकासमेत लामो समय बाढी र पहिरोका कारण बन्द भएका कारण व्यापार अवरुद्ध भएको थियो । जसले गर्दा चाडबाडको समयमै चीनबाट नेपाल आउने सामान रोकिएका थिए । जसका कारण व्यापारीले ठूलो नोक्सानी बेहोर्नुपरेको थियो ।