प्रधानमन्त्री कार्कीद्धारा देउवा, ओली र प्रचण्डलाई चुनावी निम्तो, देउवाले भने- सबै दल चुनावमा जान तयार

सबै राजनीतिक दल चुनावमा जान तयार भएका छन् । कांग्रेस पनि रेडी छ । एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो दिएकी छिन् ।

शनिबार बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्दै उनले चुनावी निम्तो दिएकी हुन् ।

‘अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौं,’ नेताहरूसँग प्रधानमन्त्री कार्कीको आग्रह थियो, ‘यो हामी सबैको जिम्मेवारी हो। यत्ति अनुरोध गर्न मैले यहाँहरूलाई आज निम्ता गरेकी हुँ ।’

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि संक्षिप्त प्रतिक्रिया दिने क्रममा देउवाले सबै राजनीतिक दल चुनावका लागि तयार भएको बताएका छन् । ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौं,’ देउवाले भने, ‘कांग्रेस पनि रेडी छ । एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।’

यसअघि शुक्रबार सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र नेकपा संयोजक दाहाललाई भेटेर बालुवाटार बैठकका लागि निम्ता गरेका थिए । यसअघि पुस ८ गते राष्ट्रपति निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेताहरूसँग संयुक्त रूपमा छलफल गरेकी थिइन् ।

शनिबारको छलफलमा प्रधानमन्त्री कार्कीले अहिले आफू रहेको बालुवाटार निवास तपाईँहरूकै हो भन्दै निर्वाचनका लागि सक्रिय रुपमा लाग्न शिर्ष नेतृत्वलाई आग्रह गरेकी थिएन । ‘यो घर तपाईँहरूकै हो । म त न्याय क्षेत्रको मान्छे । राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौं,’ छलफलका क्रममा प्रधानमन्त्री कार्कीले भनिन् ।