‘जे गर्छु नेपालमै गर्छु’ मूल नारा लिएर पुस १२ देखि ‘राष्ट्रिय घर निर्माण फेस्ट २०८२’, १५० बढी स्टलको प्रदर्शनी
देशका ५० भन्दा बढी इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले तयार पारेका ६० भन्दा बढी घरका मोडेलहरू प्रतिस्पर्धामा रहनेछन् । उत्कृष्ट तीन मोडेलले क्रमशः १ लाख, ६० हजार र ४० हजार नगद पुरस्कार पाउनेछन् ।
काठमाडौं । युवा उद्यमीहरूको समूह र स्कील सेवाको सक्रियतामा आगामी पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘राष्ट्रिय घर निर्माण फेस्ट २०८२’ आयोजना हुने भएको छ ।
‘जे गर्छु नेपालमै गर्छु, जे गरे पनि यही माटोमा गर्छु’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो मेला केवल प्रदर्शनी मात्र नभएर सुरक्षित र गुणस्तरीय घर निर्माणको एउटा महाअभियान भएको आयोजकले जनाएको छ ।
बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै घर निर्माण फाउन्डेसनका अध्यक्ष उपेन्द्र तिमल्सिना, निर्देशकहरू सफल प्रधान र शक्ताक्षी मिश्रले मेलाको तयारी र यसका उद्देश्यबारे जानकारी दिए ।
आयोजकका अनुसार मेलामा १५० भन्दा बढी स्टलहरू रहनेछन् । जसमा घर निर्माणका लागि आवश्यक जगदेखि छतसम्मका सामग्रीहरू (सिमेन्ट, डन्डी, पाइप, पेन्ट्स, फर्निचर, इन्टेरियर) एउटै छानामुनि उपलब्ध हुनेछन् । उपभोक्ताले विभिन्न ब्रान्डहरूबीच तुलना गरी सही निर्णय लिन सक्नेछन् । मेलामा विश्वकै सबैभन्दा ठूलो पुस्तक प्रदर्शन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गर्ने प्रयाससमेत गरिनेछ ।
देशका ५० भन्दा बढी इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले तयार पारेका ६० भन्दा बढी घरका मोडेलहरू प्रतिस्पर्धामा रहनेछन् । उत्कृष्ट तीन मोडेलले क्रमशः १ लाख, ६० हजार र ४० हजार नगद पुरस्कार पाउनेछन् ।
मेलामा निर्माण क्षेत्रका विज्ञहरूसँग घर निर्माणका चुनौती, प्रविधि र अवसरबारे दैनिक रूपमा छलफल हुनेछ ।
अध्यक्ष तिमल्सिनाले कमाउने घरको अवधारणा प्रस्तुत गरे । उनका अनुसार १ करोडको लगानीमा बनाइने यस्ता लग्जरी घरबाट दैनिक १५ देखि २० हजारसम्म आम्दानी गर्न सकिन्छ । आधुनिक प्रणालीबाट घरका कोठा वा फ्ल्याट भाडामा दिएर दैनिक आम्दानी गर्ने सकिने मोडल ह्वाइट रुम्स रहेको छ । यस्तै, डोम हाउस जुन ७ देखि १० लाखको लगानीमा बन्ने भूकम्प प्रतिरोधी र इको-फ्रेन्डली घरहरू, जसले महिनामा २ देखि ३ लाखसम्म आम्दानी दिन सक्छन् ।
आयोजकले यी आम्दानीका आधारहरू वर्तमान बजारको हस्पिटालिटी र डिजिटल प्लेटफर्मको मागलाई हेरेर तय गरिएको बताए । साथै, पुरानो घरलाई पनि नयाँ मोडालिटीमा लैजान सकिने र त्यसका लागि आवश्यक रेनोभेसन र इन्टेरियर सेवाबारे पनि मेलामा विज्ञहरूले परामर्श दिने जानकारी दिइएको छ । निर्देशक सफल प्रधानले देशमा आर्थिक मन्दीको चर्चा भइरहँदा युवाहरूले सामूहिक रूपमा काम गरेर देखाउन यो मेला आयोजना गरेको बताए ।