एनएमबी बैंकले अग्राधिकार सेयर निष्काशन गर्न पायो अनुमति, ३ अर्ब रुपैयाँको विक्री प्रस्ताव

एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लगानी गर्नेले ८.२५ प्रतिशतका दरले लाभांश पाउनेछन् । यसमा वितरणयोग्य नाफा आर्जन गरेको वर्ष मात्र कम्पनीले लगानीकर्तालाई लाभांश दिनेछ ।

काठमाडौँ। एनएमबि बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।

अब बैंकले प्रति कित्ता १०० रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्नेछ । एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लगानी गर्नेले ८.२५ प्रतिशतका दरले लाभांश पाउनेछन् ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयर अवधि नतोकिएको तर निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्न सक्ने विशेषता भएको पुँजी बजार उपकरण हो ।

परिपत्र विधिबाट निष्कासन हुने यो सेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउनेछन् भने वितरणयोग्य नाफा आर्जन गरेको वर्ष मात्र कम्पनीले लगानीकर्तालाई लाभांश पाउनेछन् । व्यक्तिगत लगानीकर्ता, सामूहिक लगानी योजना र सेबोनबाट अनुमति पाएका धितोपत्र व्यवसायीले यसमा लगानी गर्न पाउँदैनन् ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थापक समूहको साधारण सेयरमा परिवर्तन हुने सम्भावना भने रहन्छ । तर, त्यसका लागि फेरी छुट्टै निर्णय गर्नुपर्छ ।  बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल छ।