ग्लोबल आइएमई बैंकले लघु उद्यम विस्तारका लागि डिएआई–उदय परियोजनासँग सहकार्य गर्ने

विज्ञापन
ncell

सम्झौताअनुसार डिएआई–उदय परियोजनाले छनौट गरेका उद्यम तथा व्यवसायहरूले ग्लोबल आइएमई बैंकको कोसी प्रदेशका सम्पूर्ण शाखा कार्यालयबाट सहजपुरमा कर्जा पाउनेछन् ।

काठमाडौं । ग्लोबल आइएमई बैंक र डिएआई–उदय परियोजना बिच कोसी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरूलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी तथा परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गरेका छन् । समझदारी पश्चात् कोसी प्रदेशमा सञ्चालित विभिन्न साना तथा लघु व्यवसायहरूलाई सहजपुरमा कर्जा प्रवाह हुने र लगानीको अभावले व्यवसाय विस्तार गर्न असमर्थ उद्यम तथा उद्यमीहरूको व्यवसाय विस्तार सँगै रोजगारी वृद्धि हुने विश्वास बैंकले लिएको छ ।

सम्झौताअनुसार डिएआई–उदय परियोजनाले छनौट गरेका उद्यम तथा व्यवसायहरूले ग्लोबल आइएमई बैंकको कोसी प्रदेशका सम्पूर्ण शाखा कार्यालयबाट सहजपुरमा कर्जा पाउनेछन् । नेपाल सरकार तथा स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय पहलस्वरुप कोसी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा कोसी प्रदेशका सम्पूर्ण जिल्लाहरूमा डिएआई–उदय परियोजनाले कार्य गर्दै आइरहेको छ ।

डिएआई–उदय परियोजनाले कोसी प्रदेशमा नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, आईटी, पर्यटन तथा उत्पादनमूलक उद्योग लगायतका व्यवसायहरूलाई कर्जाको उपलब्धता तथा व्यावसायिक उन्नतिको लागि वित्तीय श्रोतमा सहज वातावरण बनाई रहेको छ ।