शीतलनिवास वार्ताः निर्वाचन सफल बनाउन बालुवाटारमा फेरि छलफल गर्ने समझदारी

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बलमा अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्की र तीन दलका शीर्ष नेतालाई राष्ट्रपतिले भेटाएका हुन् । जेनजी आन्दोलनपछि भदौ २७ गते अन्तरिम सरकारको नेतृत्व गरेयता कार्कीले यी शीर्ष नेतासँग संवाद गर्न अनिच्छा देखाउँदै आएकी थिइन् ।

काठमाडौं । सरकार र प्रमुख राजनीतिक दलहरुबीच फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण बनाउने समझदारी जुटेको छ । 

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपरान्ह प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा चुनावको वातावरण बनाउन विस्तृत छलफल गर्नुपर्नेमा समझदारी जुटेको हो । 

बैठकमा फागुन २१ गते हुने चुनाव सम्पन्न गर्न वातावरण बनाउने समझदारी जुटेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । ‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिन निर्वाचन सफल बनाउन लाग्नु पर्ने राष्ट्रपति पौडेलले बताएका थिए । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ ।