वित्तीय क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छः राष्ट्र बैंक
बैंकिङ कारोबार सम्बन्धमा कुनै गुनासो भए सम्बन्धित संस्था र राष्ट्र बैंकमा गुनासो सुनुवाइको व्यवस्था रहेकाले ग्राहकलाई मर्का परेको भन्ने लागेमा सोको गुनासो गर्न र समाधान गर्न सकिने व्यवस्था छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीमाथि हुने गैर व्यावसायिक तथा उच्छृंखल गतिविधिमा संलग्नलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । आज राष्ट्र बैंकले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण र दुव्र्यवहारका घटना बढ्न थालेकोमा ध्यानाकर्षण भएको जनाएको हो ।
सप्तरीमा ऋण असुलीका लागि पुगेका ज्योति विकास बैंकका कर्मचारीमाथि दुव्र्यवहार भएको थियो । कालोमोसो दलेर कुटपिट गरिएको भिडियो नै बाहिर आएको छ । जुन विषयले बैंकिङ क्षेत्र नै त्रासमा देखिन्छ । यसलाई आज राष्ट्र बैंकले सम्बोधन गरेको छ ।
नेपाल सरकार, यस बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको कारण स्थानीयस्तरमा नै सर्वसाधारणसँग रहेको रकम निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा सामाजिक सुरक्षा रकमलगायतका वित्तीय सेवा प्राप्त गर्न सहज भएको अवगत गराएको छ ।
राष्ट‘ बैंकले भनेको छ, ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र यस बैंकको निर्देशनको अधिनमा रहीे कर्जा प्रवाह गर्नु, प्रवाह गरेको कर्जा सम्बन्धी परियोजनाहरूको अनुगमन गर्नु र कर्जा असुलउपर गर्नु सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य हो । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप सङ्कलन गरी कर्जा प्रवाह गर्ने भएकोले कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने, तरलतामा प्रभाव पर्ने हुँदा ऋणीले लिएको कर्जा भुक्तानी नियमित रूपमा गर्नुपर्ने हुन्छ ।’
यद्यपि, कुनै प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा परेको असहजतालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले समय–समयमा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्नसक्ने लगायतका व्यवस्था गरी सहजीकरण गर्दै आएको छ । बैंकिङ कारोबार सम्बन्धमा कुनै गुनासो भएमा सम्बन्धित संस्था र यस बैंकमा गुनासो सुनुवाइको व्यवस्था रहेकोले ग्राहकलाई मर्का परेको भन्ने लागेमा सोको गुनासो गर्न र समाधान गर्न सकिने व्यवस्था समेत रहेको बताएको छ ।
बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीविरुद्घ भएका गैरव्यावसायिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधन परिचालनमा कठिनाइ हुने भएकोले वित्तीय सेवा प्रभावित हुने क्रियाकलापमा संलग्न नहुन भनेको छ । साथै, बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने तथा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही हुने भएकाले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई मनोबल उच्च राखी कार्य गर्न नेपाल राष्ट्र बैंक अनुरोध गरेको छ ।