नेपालले भारु २०० र ५०० दरका नोटको प्रतिवन्ध हटायो, २५ हजारसम्म बोक्न पाइने
सन् २०१६ मा नोटबन्दी गरेपछि भारतले १ हजार दरका नोट छपाई बन्द गरेर २ हजार दरका नोट प्रयोगमा ल्याएको थियो । तर, २ हजारका नोट भने नेपालमा बोक्न सरकारले अझै अनुमति दिएको छैन ।
काठमाडौं । सरकारले ठूला दरका भारतीय नोटको प्रतिबन्ध हटाएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले २५ हजार भारुसम्म २ सय र ५ सय दरका नोट भारत–नेपाल लान/ल्याउन पाउने व्यवस्था गरेको हो ।
सरकारले भारतीय ठूला दरका नोटको प्रतिबन्ध हटाएसँगै सन् २०१६ नोभेम्बर ९ देखि निष्कासित नोटमात्र चलनचल्तीमा ल्याउन सकिने व्यवस्था गरेको सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले बताए । ‘नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारु २५ हजार भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरिएको छ,’ मन्त्री खरेलले भने ।
यसअघि भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले ठूला दरका भारु नोट नेपाल ल्याउन र लैजान पाउने व्यवस्था गरेको थियो । भारतले खुला गरेपछि नेपाल सरकारले पनि प्रतिबन्ध हटाएको हो । सन् २०१६ मा नोटबन्दी गरेपछि भारतले १ हजार दरका नोट छपाई बन्द गरेर २ हजार दरका नोट प्रयोगमा ल्याएको थियो । तर, २ हजारका नोट भने नेपालमा बोक्न सरकारले अझै अनुमति दिएको छैन ।
भारतले नेपालमा रहेका ठूला दरका भारु सटही नदिएपछि नेपालले पनि १ सयभन्दा बढीका भारु चलनचल्तीमा बन्देज लगाएको थियो । खुला सीमा तथा व्यापारमा भारतसँगको निर्भरता सँगै दुवैतर्फ लान र लैजान पाउने व्यवस्था गरेको समयमा नेपाल सरकारले पनि त्यसलाई सकारात्मक लिई प्रतिबन्ध खुलाएको हो ।
सन् २०१६ मा भारतले नोटबन्दी गर्दा नेपालमा रहेका ठूला दरका भारु सटही दिएन अर्थात फिर्ता लिएन । त्यो समयमा बैंकिङ प्रणालीमा ५ करोड भारु थियो । ती नोट अझै पनि सटही हुन बाँकी छ ।