साढे ५ लाख टन रासायनिक मल आयात गर्न करिब २९ अर्ब बजेट विनियोजन
हालसम्म चार लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र भइसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्पष्ट पारेको छ ।
काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा आयात गर्ने पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्न २८ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । हालसम्म चार लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र भइसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार मंसिर महिनाको दोस्रो सातासम्म दुई लाख ६६ हजार ५१० मेट्रिक टन रासायनिक मल आपूर्तिको क्रममा छ । त्यसमा कृषि सामग्री कम्पनीले एक लाख ८० हजार ४९१ मेट्रिक टन र साल्ट टे«डिङ कर्पोरशेनले ८६ हजार १६ मेट्रिक टन रासायनिक मल आयात गरिरहेको छ ।
विवरणअनुसार कृषि सामग्री कम्पनीले ८८ हजार २१३ मेट्रिक टन युरिया, ९२ हजार २७८ मेट्रिक टन डीएपी मल आयात गरिरहेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले २४ हजार ४९८ मेट्रिक टन युरिया, ५३ हजार ७९५ मेट्रिक टन डीएपी र सात हजार ७२५ मेट्रिकटन पोटास आयातको क्रममा रहेको छ । अहिलेसम्म ८६ हजार ३३३ मेट्रिक टन रासायनिक मल गोदाममा मौज्दात छ । मौज्दातमा रहेको मध्ये कृषि सामग्री कम्पनीमा ५७ हजार ८१८ मेट्रिकटन र साल्ट टेडिङ कर्पोरेशनमा २८ हजार ५१४ मेट्रिक टन छ ।
त्यस्तै, आयातको क्रममा बाह्य मुलुकका विभिन्न मार्गमा एक लाख २० हजार ५९७ मेटिकटन रहेको छ । खेतीपातीका लागि सहज रुपमा रासायनिक मल उपलब्ध गराउन सबै प्रकारका उपाय अबलम्बन गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।