थप ३५ मेगावाट विद्युत भारत निर्यात गर्न प्राधिकरणले पायो अनुमति

प्राधिकरणले सेती नदी जलविद्युत आयोजनाको २४.२५ मेगावाट र माथिल्लो तादीखोला जलविद्युत आयोजनाको १०.७० मेगावाट विद्युत भारतको प्रतिस्पर्धी बजार भारतीय ऊर्जा एक्सचेन्जमा निर्यात अनुमति पाएको हो ।

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले थप ३४.९५ मेगावाट विद्युत भारत निर्यात गर्ने अनुमति पाएको छ ।

प्राधिकरणले सेती नदी जलविद्युत आयोजनाको २४.२५ मेगावाट र माथिल्लो तादीखोला जलविद्युत आयोजनाको १०.७० मेगावाट विद्युत भारतको प्रतिस्पर्धी बजार भारतीय ऊर्जा एक्सचेन्जमा निर्यात अनुमति पाएको हो । 

भारतको डेजीग्नेटेड अथोरिटी, सेन्ट्रल इलेक्ट्रीसिटि अथोरिटीले मङ्सिर १६ गते निर्यात अनुमति प्रदान गरेको हो । यससँगै प्राधिकरणले विभिन्न माध्यमबाट मध्यकालीन द्विपक्षीय सम्झौता,निर्यात गर्न पाउने विद्युतको परिमाण १२ सय मेगावाट पुगेको छ । प्राधिकरणले ३३ आयोजनाका ११ सय ६५ मेगावाट विद्युत निर्यात गर्न अनुमति पाएको थियो । यस्तै भारतले प्राधिकरणलाई २०४.५८ मेगावाट विद्युत निर्यात गर्न पाउने अवधि थप गरिदिएको छ ।

यसअघि १५ जुन देखि ३१ अक्टोबर सम्म मध्यकालीन द्विपक्षीय सम्झौता मार्फत निर्यात अनुमति प्रदान गरेका १२ आयोजनाबाट उत्पादित २०४.५८ मेगावाट विद्युत वर्षको बाँकी अवधिको लागि प्रतिस्पर्धी बजारमा निर्यात गर्न पाउने गरी निर्यात अनुमति नवीकरण गरेको छ ।