प्रभु बैंकका सीईओलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित उच्च तहका तीन जना कर्मचारीलाई अनुसन्धान गर्न ५ दिनको म्याद थप गरिएको छ ।
सोमबार जिल्ला अदालत काठमाडौंबाट अनुसन्धान गर्न ५ दिनको म्याद थप गरिएको हो । आइतबार अनामनगरस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयबाट सीआईबीको टोलीले सीईओ शेरचन, डीसीओ मणिराम पोख्रेल र प्रमुख रिस्क अधिकृत रिवास श्रेष्ठ पक्राउ गरेको थियो ।
सीआईबीले कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर कर्जा सम्बन्धी करिब १ दर्जन महत्वपूर्ण कागजात पनि नियन्त्रणमा लिएको थियो।
करिब १ अर्ब रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीका आधारमा देवी प्रकाश भट्टचनलाई कात्तिक ११ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बैंकका तत्कालीन अध्यक्ष देवी प्रकाश भट्टचन र सञ्चालक कुसुम लामाको कम्पनी प्रभु म्यानेजमेन्ट प्रालिलाई दिएको करिब १ अर्ब रुपैयाँको कर्जाका विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
